सिडिओ सरुवा, ‘सेटिङ’ मन्त्रालय बाहिरै

410
  •  
  •  
  •  

भुवन क्षेत्री 
काठमाडौं, २९ वैशाख (ओएनएस) : गृहमन्त्रालयले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गर्ने तयारी गरेको छ । यसअघि काजमा पठाइएका र खाली रहेका जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
पाँचवटा क्षेत्रीय प्रशासन कार्यालय, ‘क’ श्रेणीका जिल्लामा सहसचिव र बाँकी ठाउँमा उपसचिवलाई पठाउने गरी मन्त्रालयले तयारी गरेको छ । स्रोतका अनुसार जेठको १० गते भित्र सरुवा गर्ने तयारी छ ।
विभिन्न मन्त्रालयबाट केही दिन अगाडि मात्रै गृह मन्त्रालयमा सरुवा भएका १० सहसचिवलाई सिडिओ बनाएर पठाइने तयारी गरिएको छ । त्यस्तै केही जिल्लामा अहिले काम गरिरहेका सिडिओ पनि सरुवामा पर्ने छन् ।
सिडिओ बन्नकै लागि अन्य मन्त्रालयबाट गृहमा आएका सहसचिवहरुको चाहना र प्रभाव अहिलेको सरुवामा पर्ने गृहका एक अधिकारी बताउँछन् ।
‘सेटिङ’ मन्त्रालय बाहिरै  
सिडिओ सरुवाको बारेमा तयारी गर्ने जिम्मेवारी लिएका कर्मचारी प्रशासन महाशाखाका प्रमुख एकनारायण अर्याल भेट्न सिंहदरवार भित्र रहेका देखि विभिन्न जिल्लामा रहेका सिडिओ रहेका सहसचिवहरु दैनिक जस्तो गृह मन्त्रालय पुग्ने गरेका छन् ।
तर उनीहरुले केही दिन देखिनै सहसचिव अर्याललाई भेट्न त के मन्त्रालयमा देख्न पनि पाएका छैनन् । गृहमा सरुवा भए पनि बस्ने कोठानै नपाएका एक सहसचिवले भने, ‘मन्त्रालयमा होइन बाहिरै बसेर सरुवाको सेटिङ भइरहेको जानकारी पाएका छौँ ।’
गृह स्रोतका अनुसार कर्मचारी महाशाखा प्रमुख अर्याल सहित उपसचिव प्रेमलाल लामिछाने र शाखा अधिकृत जयराज भण्डारी सिडिओ सरुवाको लिष्ट बनाउन मन्त्रालय बाहिरै बसेका छन् । उपसचिव लामिछाने गृहमन्त्री वामदेव गौतमका स्वकीय सचिव हुन् भने भण्डारी पनि मन्त्रीको सचिवालयमा कार्यरत छन् ।
ती अधिकारीका अनुसार मन्त्रालयमा सहसचिवको भीड लागेपछि मन्त्रालय बाहिरै बसेर सरुवाको लिष्ट तयार भइरहेको हो । गृहमन्त्री वामदेव गौतमलाई अन्तिम ‘रुजु’ गर्नेगरी सरुवाको लिष्ट तयार भइरहेको छ ।
प्रशासन महाशाखाका प्रमुख अर्यालले १० जना सहसचिवको व्यवस्थापन गर्नुपर्ने भएकाले सिडिओको सरुवा गर्ने तयारी भएरहेको ओएनएस न्युजलाई बताए । तर, उनले मन्त्रालय बाहिर सरुवाको ‘सेटिङ’ भइरहेको भन्ने अस्वीकार गरे ।
‘पाँचवटा क्षेत्र र पाँच जिल्लामा खाली छन्, हामी व्यवस्थापनमा लागेका छौ, केही समयमा मन्त्रालयले सिडिओका रुपमा सहसचिवलाई सरुवा गर्छ होला’ सहसचिव अर्यालले भने, ‘मन्त्रालय बाहिर सरुवाको लिष्ट बन्दैछ भन्ने कुरा गलत हो ।’
२१ जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा
गृहमन्त्रालयले २१ जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ। गृह मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार स्याङजाका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार राउतलाई कास्की, विरेन्द्र कमार यादवलाई सप्तरी , दिनेश भट्टराई दाङ,भगीराज इङनाम धनकुटा, सुर्दशन प्रसाद ढकाल सुनसरी र अनिल कुमार ठाकुरलाई भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ।
यस्तै गृहले केशव राज घिमिरेलाई मकवानपुर , केदार न्यौपाने काभ्रे, रबीलाल पन्थ महोत्तरी, हरि प्रसाद मैनाली नवलपरासी,राम प्रसाद थपलिया उदयपुर , दिनेश प्रसाद घिमिरे स्याङजा र दिल वहादुर घिमिरेलाई सुर्खेतको सिडिओ बनाएको छ।
त्यसैगरी कपिलवस्तुका सिडिओ कृष्णचन्द्र घिमिरेलाई कञ्चनपुर,गोबिन्द बहादुर कार्कीलाई डोटी, पर्शुराम अर्याललाई बारा, मदन भुजेललाई रौतहट, बिनोद प्रकाश सिंहलाई कपिलवस्तु, कृष्ण प्रशाद ढुंगनालाई धनुषा, अब्दुल कलाम खॉलाई सिरहा र दुर्गाप्रसाद पोख्रेललाई सर्लाही जिल्लाको सिडिओ बनाएको छ।
यसैगरी गृहमन्त्रालयले दिपक काफ्लेलाई सह क्षेत्रीय प्रशासक धनकुटा, राज कुमार श्रेष्ठलाई सहक्षेत्रिय प्रशासक सुर्खेत, पुरुषोत्तम कुवरलाई सहक्षेत्रिय प्रशासक हेटौडा र दुर्गा प्रशाद भण्डारीलाई सहक्षेत्रिय प्रशासक पोखरामा खटाएको छ।गृहमन्त्रालयले काठमाडौ र ललितपुरका प्रजिअलाई चलाएको छैन।
गृहमन्त्री वामदेव गौतमले गौतमले हालै बढुवा भएकामध्येबाट आफूले रोजेर ल्याएका सहसचिवलाई महत्त्वपूर्ण जिल्लाको प्रजिअ बनाएको एक अधिकारीले बताए । आफ्नो स्वार्थमा काम गर्न नचाहनेलाई भने क्षेत्रीय प्रशासन कार्यालयमा लगेर थन्क्याएका छन् ।
कसको सरुवा कहाँ भयो
वीरेन्द्रकुमार यादव सप्तरी,
भगिराज इङनाम धनकुटा,
मदन भुजेल रौतहट,
विनोदप्रकाश सिंह  कपिलवस्तु,
कृष्णप्रसाद ढुंगाना धनुषा,
अब्दुल कलाम खाँ सिरहा,
दुर्गाप्रसाद पोखरेल सर्लाही,
गोविन्दबहादुर कार्की डोटी
 केदार न्यौपाने काभ्रे
सुदर्शन ढकाल सुनसरी
डोटीका दीपक काफ्ले क्षेत्रीय प्रशासन कार्यालय पूर्वाञ्चल,
उदयपुरका राजकुमार श्रेष्ठलाई क्षेत्रीय प्रशासन कार्यालय मध्यपश्चिम,
 सुर्खेतका पुरुषोत्तम कुँवरलाई क्षेत्रीय प्रशासन कार्यालय मध्यमाञ्चल
काभ्रेका दुर्गाप्रसाद भण्डारीलाई क्षेत्रीय प्रशासन कार्यालय पश्चिमाञ्चलमा सरुवा गरिएको छ ।
स्याङ्जाका कृष्णबहादुर राउतलाई कास्की
 बाराका दिनेश भट्टराईलाई दाङ,
सिरहाका अनिलकुमार ठाकुर भक्तपुरमा,
कञ्चनपुरका पर्शुराम अर्याललाई बारा,
कपिलवस्तुका कृष्णचन्द्र घिमिरेलाई कञ्चनपुर
नवलपरासीका केशवराज घिमिरे मकवानपुर
,दाङका रविलाल पन्थलाई महोत्तरी
धनुषाका हरिप्रसाद मैनालीलाई नवलपरासी,
महोत्तरीका रामप्रसाद थपलियालाई उदयपुर
 सर्लाहीका दिनेशकुमार घिमिरे स्याङ्जा
रौतहटका दिलबहादुर घिमिरे सुर्खेतको प्रजिअमा सरुवा गरिएको छ

  •  
  •  
  •