सीडीओ नै भन्छन्– अनुगमन प्रभावकारी भएन

231
  •  
  •  
  •  

विराटनगर, ८ मंसिर(ओएनएस) : बन्द र अघोषित नाकाबन्दीका कारण कालो बजारी मौलाए पनि अनुगमन गर्ने जिम्मेवार निकायले प्रभावकारी काम नगरेको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताएका छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूसँग प्रजिअ कार्कीले वाणिज्य कार्यालयको कामप्रति असन्तुष्टि जनाएका हुन् ।

आठ राजनीतिक दल र मन्त्रालयका प्रतिनिधि सम्मिलित छलफल कार्यक्रममा प्रजिअ कार्कीले भने, ‘वाणिज्य कार्यालयले जुन स्पिडमा काम गर्नुपर्ने हो, त्यो गरेकै छैन ।’ बजारमा कालोबजारी मैलाएको गुनासो आए पनि जिम्मेवार निकायले दिएको निर्देशनसमेत पालन गरेको उनको भनाइ थियो ।

अनुगनम गर्नुपर्ने समयमा पनि प्रभावकारी अनुगमन नगरेको कार्कीले गुनासो गरे । वाणिज्यले अनुगमनमा अग्रसरता नै नदेखाएको उनको भनाइ थियो । उनले भने, ‘यस्तो बेलामा वाणिज्यको अनुगमन इफेक्टिभ हुनुपर्थ्यो तर छैन ।’

सिलिन्डर सिल नहुँदा उपभोक्ता ठगिए
विराटनगरका ग्यास उद्योगहरूले सिल नगरी आधा सिलिण्डर ग्यास बिक्री वितरण गरेको भन्दै मोरङका राजनीतिक दलहरूले असन्तुष्टि जनाएका छन् । जिल्ला प्रशासन कार्यलयले आयोजना गरेको सर्वदलीय छलफल कार्यक्रममा सहभागीहरूले सिलिण्डर सिल नगर्दा जोखिम बढेको, तौल कम हुने समस्या देखिएको र कालोबजारी भइरहेको गुनासो गरेका हुन् ।

भारतले गरेको अघोषित नाकाबन्दीका कारण ग्यासको चरम अभाव छ । अभाव कम गर्न सरकारले आधा सिलिण्डर ग्यास वितरण वितरण गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार आधा सिलिण्डर ग्यास बिक्री गर्ने नाममा मोरङमा सिलिण्डर सिल नै नगरी बिक्री गरिएको छ ।

एमाले मोरङका अध्यक्ष महेश रेग्मीले आधा सिलिण्डर ग्यास सिल नगरिँदा उपभोक्ता ठगिने भन्दै सिल अनिवार्य गर्न प्रशासनलाई आग्रह गरे । त्यस्तै कांग्रेस, एमाओवादी र अन्य साना दलका नेताहरूले पनि अभावको बेला कालोबजारी रोक्न नसकेको भन्दै स्थानीय प्रशासन तथा अनुगमनकारी निकायको आलोचना गरेका थिए ।

जवाफमा प्रजिअ कार्कीले उद्योगहरूलाई सिल गर्न आग्रह गरे पनि प्राविधिक कारण देखाउँदै सिल नगरी बजार पठाएको बताए । उनले भने, ‘हामीले सिल गरेर मात्र बजार पठाउन भनेका थियौँ तर माथिबाट निर्देशन नभएकाले कडाइ गर्न सकेनौँ ।’

प्रजिअ कार्कीले पेट्रोलिय पदार्थ र शान्ति सुरक्षाबारे सर्वदलीय छलफलको आयोजना गरेका थिए । कार्यक्रममा उपस्थित राजनीतिक दलहरूले असहज परिस्थितिलाई सहज बनाउन प्रशासनस“ग सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।


  •  
  •  
  •