राजधानी प्रवेशका नाकानाकामा सिसिटिभी

254
  •  
  •  
  •  

काठमाडौं, १० साउन : उपत्यका प्रवेश गर्ने मुख्य नाकामा लामो प्रयासपछि नेपाल प्रहरीले सिसिटिभी जडान सुरु गरेको छ । काठमाडौंका नागढुंगा र फर्पिङ तथा तीनपिप्ले र भक्तपुरको जगातीमा सिसिटिभी जडान गर्ने योजना रहेकामा जगाती र नागढुंगामा जडान भइसकेको छ ।   महानगरीय प्रहरी आयुक्त कार्यालय (मेट्रो) ले तीन दिनदेखि नाकामा सिसिटिभी जडान थालेको थियो ।

CCTV-Camera_2-300x240

नाकाहरूमा सिसिटिभी जडानसहित ‘डिजिटल चेक प्वाइन्ट’ स्थापना गरिएको समाचार हिमालय टाइम्समा छापिएको छ । सुरक्षा जाँच कडा बनाउन सिसिटिभी जडान गरेको आयुक्त कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक हेमन्त पालले बताए ।

उनका अनुसार सिसिटिभी नहुँदा व्यक्तिका गतिविधि नियाल्न समस्या भइरहेको थियो । ‘प्रहरी संगठनको प्राथमिकताअन्तर्गत विभिन्न गतिविधि निगरानी गर्न उपत्यकाका चारवटै नाका नागढुंगा, फर्पिङ, तीनपिप्ले र जगातीमा डिजिटल चेक प्वाइन्ट स्थापना आवश्यक थियो,’ पालले भने ।

तीन दिनअघि नागढुंगामा चार थान सिसिटिभी क्यामरा जडान गरेर सञ्चालनमा ल्याइएको छ । दुई दिनअघि अन्य तीन नाकामा जडान भएको प्रहरीले जनाएको छ । भक्तपुरको जगाती नाकामा सोलार प्यानल जडान भइसकेको छ ।

नेपाल प्रहरीलाई प्रविधिमा पहुँच पु¥याउने योजनाअनुसार सिसिटिभी र डिजिटल चेक प्वाइन्ट राखेको मेट्रोले जनाएको छ । सुरुमा उपत्यका प्रवेश गर्ने मुख्य नाकामा जडान भएको सिसिटिभी क्रमशः उपत्यकाभर जडान गर्ने लक्ष्य रहेको प्रवक्ता एसएसपी पालले बताए । उनका अनुसार उपत्यकामा हुने घटनामा प्रविधिको प्रयोग बढ्दो छ । त्यस्ता घटना नियन्त्रण गर्न प्रहरी पनि प्रविधिसँगै अघि बढ्नुपर्ने भएकाले ठाउँठाउँमा सिसिटिभी र डिजिटल चेक प्वाइन्ट राख्न थालिएको छ । मेट्रोले बढी जनघनत्व भएका र आर्थिक कारोबार बढी हुने व्यापारिक केन्द्रहरूमा सिसिटिभी र डिजिटल चेक प्वाइन्ट राख्ने योजना प्रहरी प्रधान कार्यालयको छ ।

यसअघि काठमाडौंको चाबहिलदेखि बौद्ध जोरपाटीसम्म स्थानीय युवा र संघ संस्थाको सहयोगमा सिसिटिभी जडान भइसकेको छ । महाराजगञ्ज, गंगबु, कालिमाटी, कोटेश्वर, बानेश्वर, पुतलीसडक, न्युरोड, बागबजारसमेतका घना बस्ती र मानिसको बढी चहलपहल हुने स्थानमा सिसिटिभी राख्ने योजना प्रहरीको छ ।


  •  
  •  
  •