काठमाडौं ७ वैशाख (ओएनएस) : समय दिँदा पनि नवीकरण नगरेपछि सरकारले सञ्चालनमा रहेका सबै क्यासिनो आजबाट बन्द्य गराउने भएको छ । सरकारले चौथोपटक दिएको नवीकरणको म्याद सकिएपछि सबै क्यासिनोहरुलाई अवैध घोषणा गरेर आजदेखि बन्द गर्न लागिएको छ ।
क्यासिनो नियमावली ०७० अनुसार सबै क्यासिनो अवैध भएकाले बन्द गर्ने निर्णय गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । नौ महिना समय दिँदा पनि कुनै क्यासिनोले नवीकरण गर्न चासो नदेखाएको र चासो देखाएका केही क्यासिनो सञ्चालकले पनि पर्याप्त कागजात उपलब्ध गराएका छैनन ।
६ साउनबाट लागू हुने गरी ल्याएको क्यासिनो नियमावलीअनुसार नवीकरण गर्न सरकारले दुईपटक चार चार महिना र दुईपटक १५ १५ दिनको म्याद दिएको थियो । तर, क्यासिनो सञ्चालकले नवीकरणमा चासो दिएका छैनन् । ‘
क्यासिनो नियमावली ०७० अनुसार हरेक क्यासिनोले राजस्व चार करोड रुपैयाँ, इजाजत शुल्क दुई करोड रुपैयाँ, बैंक धरौटी चार करोड र निवेदन दस्तुर पाँच लाख रुपैयाँ बुझाउनुपर्ने हुन्छ । क्यासिनोमा जितेको रकमको २५ प्रतिशत कर लगाउने र जित्नेहरूको भिडियो रेकर्ड राख्नुपर्ने पनि व्यवस्था छ ।