सर्वाेच्चको आदेशपछि रोयल क्यासिनो सञ्चालन

99
  •  
  •  
  •  

काठमाडौं, ८ असोज । गृहमन्त्रालयको निर्देशनपछि गत वैशाख ७ देखि बन्द रहेको क्यासिनो रोयल सोमबार रातिबाट सञ्चालन भएको छ ।
सरकारले क्यासिनो बन्द गराएपछि रोयलका सञ्चालक मनोज सुवेदी सर्वाेच्च अदालत पुगेका थिए । सर्बाेच्चले गत शुक्रबार क्यासिनो रोयललाई सञ्चालन गर्न तथा सञ्चालनमा अवरोध नगर्न आदेश दिएको थियो । सर्वाेच्चको त्यही आदेशबाट क्यासिनो रोयल सञ्चालनमा आएको हो । अन्य क्यासिनो भने सञ्चालनमा आएका छैनन् ।

रोयलले आर्थिक वर्ष २०६९/०७० को क्यासिनो रोयल्टी २ करोड ५४ लाख ७५ हजार रुपैयाँ बुझाइ सकेको थियो । रोयल्टी बुझाएपछि पनि सरकारले क्यासिनो बन्द गराएको भन्दै सञ्चालक सुवेदीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, पर्यटन मन्त्रालय र गृहमन्त्रालयलाई विपक्षी बनाएर सर्वाेच्चमा रिट दिएका थिए ।

रोयलमा ७ सय ५० कर्मचारी छन् । क्यासिनो सञ्चालन सुरु भएपछि लामो समय बेरोजगार बसेका कर्मचारीहरुले खुसी व्यक्त गरे । क्यासिनोमा नेकपा–माओवादीनिकट कर्मचारी युनियनका सचिव कुमार खत्रीले भने, ‘पाँच महिना बेरोजगार भएर बस्नु प¥यो, अब क्यासिनो चलेपछि समस्या समाधान भएको छ ।’

देशमा १० वटा क्यासिनो सञ्चालनमा थिए । सरकारले क्यासिनोको रोयल्टी वार्षिक २ करोडबाट बृद्धि गरेर ४ करोड र नवीकरण शुल्क १ करोड बनाएपछि सबै क्यासिनो बन्द भएका थिए । अब भने नयाँ नियमावली बनाएर रोयल्टी ३ करोड र नवीकरण ५० लाख रुपैयाँमा झार्ने पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका अधिकारीसँग अनौपचारिक सहमति भएको छ । त्यही सहमतिअनुसार नियमावली आउने भन्दै अन्य क्यासिनो पनि सञ्चालन तयारीमा रहेका छन् ।

दश क्यासिनोमध्ये रोयलमात्र सञ्चालन भएको हो । क्यासिनो एसोसिएसन अफ नेपालका अनुसार अन्य क्यासिनो पनि सञ्चालन प्रकृयामा छन् । उनीहरुले सरकारले तोकेको कर तिर्नु पर्ने वा रोयलको जस्तै सर्वाेच्चको आदेश ल्याउनु पर्नेहुन्छ ।
देशका क्यासिनोमा झण्डै १० हजार मजदुर कार्यरत छन् । क्यासिनो रोयलबाहेक अन्य नखुलेका कारण मजदुरले समस्या भोगिरहेका छन् ।
नेपालका क्यासिनोहरुमा नेपालीलाई प्रवेश रोक लगाएको छ । प्रहरीले नेपालीलाई प्रवेश गराएमा कडा रुपमा प्रस्तुत हुने क्यासिनो सञ्चालकहरुलाई चेतावनी दिइसकेको जनाएको छ ।

पाँच दिनअघि सर्वाेच्चले आदेश दिए पनि सर्वाेच्चको आदेश गृहमन्त्रालय नपुग्दा सोमबार रातिसम्म रोयलले क्यासिनो चलाउन पाएको थिएन । ‘राति प्रहरीले सर्वाेच्चको आदेशको जानकारी आएको र चलाउन हुन्छ भनेपछि क्यासिनो सुचारु भयो ।’ रोयलका एक कर्मचारीले भने ।
सुरेन्द्र सुवेदीले हिमालय टाइम्समा लेखेका छन् ।


  •  
  •  
  •