काठमाडौं, १६ पुस(एजेन्सी) : कार्गो जहाजमा गोप्य ढंगले लुकाएर लैजाँदै गरेका ७ सय भन्दा बढि आप्रवासी इटालीमा पक्राउ परेका छन् ।
एक मालबाहक पानीजहाजमा रहेका ती आप्रवासीहरूलाई इटालीको गालीपोली बन्दरगाहमा पक्राउ गरिएको हो । पक्राउ परेका आप्रवासीहरूमा बहुसंख्यक सिरियाली र कुर्दीदहरू रहेको बिबिसीले जनाएको छ । उनीहरूलाई जहाजको एक डिब्बामा राखिएको अवस्थामा फेला पारिएको हो ।
चिसोको कारण ती आप्रवासीहरूको अवस्था अत्यन्त चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ । एक प्रत्यक्षदर्शी गिलबेर्टो बुस्टीले बिबिसीलाई दिएको जानकारी अनुसार चिसोको कारण केहीको मृत्यु भएको हुनसक्छ । उनीहरूको उद्धारकार्यमा लागेका उनका एक साथीका अनुसार त्यहाँ ८ सय देखि ९ सयको संख्यामा आप्रवासीहरू हुन सक्ने बताएका छन् ।
उनले भने, ‘प्रहरी र रेडक्रसले उनीहरूलाई बस्ने व्यवस्था मिलाउनका लागि टेन्ट टाँगिरहेको देखेको थिए ।’ बुस्टीका अनुसार उनको साथीले त्यहाँ केही मानिसको शव समेत भेटिएको बताएका छन् ।