सार्कका बेला बनाइएका संरचना भत्कन थाले

164
  •  
  •  
  •  

काठमाडौं ९ पुस ।  १८औं सार्क सम्मेलनका बेला रातारात बनाइएका भौतिक संरचना भत्किन थालेका छन् । मर्मत र संरक्षण अभावमा ती संरचना भत्कन थालेका हुन् । सरोकारवाला निकाय महानगर, उपत्यका विकास प्राधिकरण, डिभिजन सडक कार्यालय काठमाडौंले त्यसप्रति खासै चासो दिएका छैनन् ।

अधिकांश स्थानमा राखिएका सोलार बत्ती बिगि्रसकेका छन् भने सडक बीचका बगैंचा, पर्खाल भत्कन थालेका छन् । नयाँ बानेश्वस्थित इन्द्रायणी फुड ल्यान्ड, माइतीघर मन्डला, नयाँ बानेश्वरलगायतका स्थानवरपर बगैंचा संरक्षणका लागि बनाइएका पर्खालहरू भत्केका छन् ।

सडक धुलाम्य छ, बत्तीमा समेत धुलैधुलो छ । महानगरका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले पानी अभावले सडक सफा गर्न नसकिएको बताए । ‘केही दिनभित्रै हामी सरसफाइ अभियान सञ्चालन गर्छौं, सरसफाइमा कमी ल्याउँदैनौं,’ उनले भने, ‘सडक धुलाम्मे भएका छन्, सडकमा हिँड्न सक्ने अवस्था छैन, त्यो थाहा हुँदा-हुँदै पनि केही गर्न सकेका छैनौं, सहरको सफाइमा हामी जतिबेला पनि खटिन्छौं ।’

रोपिएका रूखहरू पनि सुक्न थालेका छन् । कतिपय स्थानमा रूख संरक्षण गर्न बनाइएका तारबार पनि हराउन थालेका छन् । विभिन्न स्थानमा निर्माण गरिएका फूलका बोट पनि सुकिसकेका छन् । नयाँ फूलका लागि टेन्डर आह्वान गरिसकेको कार्यकारी श्रेष्ठले जनाए । ‘फूल सिजनेबल हुन्छ, अब नयाँ फूल रोप्छौं,’ उनले भने । सार्कका बेला रातदिन पानीले सफा पारेर चिल्ला बनाइएका सडक पनि फोहोर र अव्यवस्थित भएका छन् ।

बिहान सबेरै उठेर सडक सफा गर्ने कर्मचारीहरू कहीँ पनि भेटिँदैनन् । बु्रमरले सफा गरिएका सडक उस्तै फोहोर भइसकेका छन् । सडक सफा गर्ने पानीका ट्यांकरहरू कहीँ पनि देखिँदैनन् ।

कार्यकारी श्रेष्ठले महानगरसँग सरसफाइका लागि पर्याप्त कर्मचारी भएको भन्दै सबैलाई सरसफाइमा खटाइने बताए । बु्रमर बिगि्रएकाले चाँडै मर्मत गरी सञ्चालनमा ल्याइने उनले बताए । महानगरसँग तीनवटा सफा गर्ने ब्रुमर छन् । तीमध्ये दुईवटा ब्रुमर मात्र चालू अवस्थामा छन् । ‘सरसफाइसम्बन्धी जागरण अभियान सञ्चालन गर्छाैं, सरफाइमा शैक्षिक संस्थासँग पनि समन्वय गर्छौं,’ उनले भने ।

ठमेल, पुरानो बानेश्वर र मैतीदेवीलगायतका क्ष्ाेत्रमा फोहोर तथा धुलो व्यवस्थापनमा निकै चुनौती भएको उनले बताए । सार्क सम्मेलनलगत्तै उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह पनि कुचो बोकेर सडकमा आफैँ निस्केका थिए ।

तर, हाल उनले पनि खासै चासो दिएका छैनन् । मन्त्री सिंहका प्रेस प्रतिनिधि यूपी लामिछानेका अनुसार मन्त्रीको विदेश भ्रमणका कारण सरसफाइ अभियानमा केही कमी देखिएको हो ।

पसलेहरूले नयाँ बानेश्वर, कलंकी, चाबहिलका फुटपाथ अतिक्रमण गर्न थालेका छन् । पैदलयात्री हिँड्ने फुटपाथमा छपिएका सिमेन्टका साना ब्लकहरू पनि उप्कन थालेका छन् । यसरी संरचना भत्किँदासमेत सरोकारवाला निकाय महानगरले ध्यानसमेत दिएको छैन । उपत्यका विकास प्राधिकरण काठमाडौंका आयुक्त भाइकाजी तिवारीले भत्केका संरचना तत्काल निर्माण गरिने बताए । ‘केही स्थानमा सामान्य क्षति भएको छ, पुनर्निर्माण गर्छाैं,’ उनले भने । सडक डिभिजन कार्यालयका इन्जिनियर गजेन्द्रबहादुर चन्दले सडक मर्मत सम्भारमा कुनै कमी नल्याउने बताए । ‘भत्केका छैन, कहीँ-कतै कालोपत्रे उप्केको होला, त्यो चाँडो बनाउँछौं,’ उनले भने, ‘भत्किएको स्थानमा निर्माण गर्न कुनै कसर बाँकी राख्दैनौं ।’ कान्तिपुरबाट


  •  
  •  
  •