अब सिंहदरबारभित्र एउटै क्यान्टिन

676
  •  
  •  
  •  

काठमाडौं, २९ असार २९ । सिंहदरबार यस्तो निकाय जसले मुलुकको सम्पूर्ण प्रशासनिक निकायको नेतृत्व गर्छ । यहाँ मुलुकका ७५ वटै जिल्लाका व्यक्ति प्रशासनिक काम लिएर पुग्ने गरेका छन् ।

त्यसैले पनि मुलुककै नेतृत्वदायी प्रशासनिक निकायमा कस्ता चमेना गृह सञ्चालनमा छन् भन्ने कुरा सबैको चासोको विषय हुन सक्छ । त्यसमा पनि मुलुक सञ्चालनका प्रमुख तथा उच्च पदस्त व्यक्तिहरूले कस्तो खाना र खाजा खान्छन् भन्ने विषयमा चासो लिनु नौलो कुरा होइन । मुलुकका प्रधानमन्त्री, मन्त्री, सचिव तथा निजामती कर्मचारी र मुलुकभरवाट प्रशासनिक काम लिएर आएका सर्वसाधारणले सिंहदारबारभित्र कस्तो खाना खान पाउँछन् यसमा धेरैको चासो रहन्छ ।

मुलुककै प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र रहेका हरेक मन्त्रालयमा चमेना गृह सञ्चालनमा छन् । मन्त्रालयहरूले आन्तरिक रूपमा बोलपत्र आ≈वान गरी सिंहदरबार परिसरमा चमेना गृह सञ्चालनका लागि अनुमति दिनेगरेका छन् ।

सस्तो, राम्रो, गुणस्तरीय र सबैलाई मान्य हुने खाना तथा खाजाको प्रबन्ध गर्न सक्नेलाई सिंहदारबारभित्र चमेना गृह सञ्चालनको अनुमति दिइने गरेको छ । अहिले सिंहदारबारभित्र २६ वटा चमेना गृह सञ्चालनमा छन्, तर तिनको गुणस्तर, मूल्यसूची र परिकारका विषयमा भने धेरैलाई जानकारी नहुन पनि सक्छ ।

सिंहदरबारमा हरेक मन्त्रालयका अगाडि सञ्चालनमा रहेका चमेना गृहमा कस्ता खाजा बन्छन् र बाहिरको भन्दा मूल्यअन्तर कस्तो भन्ने कुरा चासोको विषय हुन सक्छ ।

अर्कोतिर कुन मन्त्रीले कस्तो खाजा रुचाउँछन् र कुन मन्त्रालयका कर्मचारीले बढी खाने खाजा के हो भन्ने पनि खुल्दुलीको विषय हुन सक्छ । अहिले सिंहदरबारमा सञ्चालनमा रहेका अधिकांश चमेना गृहमा मम, चाउमिन, चना चिउरा, रोटी तरकारी, भुटन चिउरा र खसी तथा कुखुराको मासु चिउरा उपलब्ध हुने गरेका छन् । यी परिकार सबै चमेनागृहमा पाइने भए पनि प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालयका चमेना गृहमा भने बढीजसो मासु चिउरा, जेरी पुरी तरकारी र चिकेन मम पाक्ने गरेको छ ।

अन्य मन्त्रालयभन्दा आकर्षक मन्त्रालयका रूपमा चिनिने अर्थको चमेना गृहमा पाक्ने परिकारसमेत अरूको भन्दा भिआइपी नै हुने गरेका छन् । ‘हाम्रोमा धेरैजसो चिकेन मम, जेरी पुरी, मासु चिउरा र फलफूल उपलब्ध हुने गरेको छ,’ अर्थमन्त्रालयको चमेना गृहका सञ्चालक भन्छन्, ‘यहा“का अधिकांश सरहरूदेखि मन्त्रीज्यूहरूले पनि बढीजासो मम, मासु चिउरा र फलफूल खाने गर्नुहुन्छ ।’

दाम र कामका हिसाबले पनि आकर्षक मानिने अर्थका कर्मचारीमात्र होइनन् मन्त्रीसमेत अन्य क्यान्टिनको तुलनामा भिआइपी खाजा खाने गरेका छन् । अर्थको क्यान्टिनका खाजा खान जाने सर्वसाधारणसमेत अरूभन्दा बढी मम र मासु चिउरै खानका लागि जाने गरेको चमेना गृहका सञ्चालक बताउ“छन् ।

श्रम तथा रोजगार मन्त्रालयको चमेना गृहमा धेरैजसो पुरी तरकारी, भेज मम, तरकारी चिउरालगायतका सामान्य खाजा हुने गरेका छन् । यस्तै, सिंहदरबारको सेनाको चमेना गृहमा हरेक दिन भुटन चिउरा बन्ने गरेको छ ।

खसीको भुटन र चिउराका लागि निक्कै चर्चित सेनाको चमेना गृहमा अधिकांश मन्त्रालयका कर्मचारी र सर्वसाधारणको  भीड लाग्ने गरेको छ । बाहिरको तुलनामा सरल मूल्यमा खाजा खान पाइने भएकाले पनि सिंहदरबारका चमेना गृहमा पहुँच हुने सर्वसाधारण पस्ने गरेका छन् । यस्तै, सहकारी तथा गरिबी निवारण, सहरी विकास मन्त्रालयका चमेना गृहमा समेत अर्थको तुलनामा सरल र कम परिकार उपलब्ध हुने गरेको छ ।

सम्बन्धित मन्त्रालयका कर्मचारी र मन्त्रीसमेत त्यही परिकार खाने गरेका छन् । कर्मचारीहरू समेत अहिलेसम्म गुणस्तर र मूल्य ठिकै भएको प्रतिक्रिया दिन्छन् । सिंहदरबार सचिवालय पुनर्निर्माण समितिका सदस्य सचिव गिरिजाप्रसाद गोर्खाली सिंहदरबारमा अहिले २६ वटा चमेना गृह सञ्चालनमा रहेको र तिनको गुणस्तर र मूल्यसमेत ठिकै रहेको बताउ“छन् । चमेना गृहमा खासै मूल्य बढी नहरे पनि गुणस्तर र सरसफाइमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
आजको हिमालय टाइम्सबाट ।


  •  
  •  
  •