सम्झना गैरे
काठमाडौं, २० (ओएनएस) । सिन्धुपाल्चोकका बीरबहादुर खड्का (नाम परिवर्तन) दुई महिनादेखि अस्वस्थ छन् । सुरुमा गाउँकै स्वाथ्यचौकीमा देखाए, औषधी खाए तर, सन्चो भएन । राजधानीको जावलाखेलस्थित नेशनल क्यान्सर अस्पतालका डाक्टरले रोग पहिचान गरे । उनको फोक्सोमा क्यान्सर भइसकेको रहेछ । आत्तिएलान् भनेर खड्कालाई रोगबारे विस्तृत रुपमा बताइएको छैन ।
‘चुरोट खैनी धेरैखानु हुँदो रहेछ । फोक्सोमा सानो दाग छ,’ डाक्टरले यसो भनेपछि राजनीतिमा चासो राख्ने खड्काले सोधे,‘प्रधानमन्त्रीको जस्तै ?’ डाक्टरले उत्तर दिए, ‘हो त्यस्तै ।’ उनले केही दिन अधि पत्रिकामा पढेका थिए प्रधानमन्त्रीको फोक्सोमा देखिएको दाग त क्यान्सरको रहेछ । ५३ वर्षका उनी आत्तिएका छन्, कतै आफूलाई पनि क्यान्सर नै त भएको छैन ! ‘भएकै रहेछ भने पनि हामीजस्ता गरिव जनतासँग मर्नु बाहेक के विकल्प छ र ?’ उनी भन्छन्, ‘के रोग लागेको हो भनेर विदेश देखाउन जान सक्ने औकात कति जनताको होला र ?’
प्रधानमन्त्री कोइराला मात्र होइन उपचारका लागि नेताहरू विदेशीएको देख्दा उनको चिन्ता बढेको छ । ‘नेपालमा सानो रोगको पनि उपचार हुन सक्दैन कि के हो ? नेतालाई विश्वास नलागेको अस्पताल र डाक्टरलाई जनताले कसरी विश्वास गर्ने ?’ उनलाई यो प्रश्नको चित्तबुझ्दो जवाफ कसैले दिन सकेको छैन ।
‘उपचारका क्रममा उनले भएभरको जेथा सकिसकेँ । तर सुधार भएको छैन । प्रधानमन्त्री र मेरो रोग उस्तै हो रे । हाम्रो वानी उस्तै रहेछ, खैनी खुव खाने । रोग एउटै, रोगको कारण एउटै । तर, के गर्नु उपचार एउटै हुन सकेन,’ उनी थप गुनासो गर्छन् ।
सोही अस्पतालमा अर्की विरामी छिन् ठूलीमाया तामाङ (७०) । रोगले शरीर थलिए पनि ठट्टा गर्ने वानीलाई केही फरक परेको छैन । बर्दिवासकी उनी एक वर्षदेखि फोक्सोको उपचार गराइरहेकी छिन् । प्रधानमन्त्रीलाई क्यान्सर भएको सुन्दा देश शोकमा डुबेको पनि उनले थाहा पाएकी छिन् । आफूजस्ता क्यान्सर पीडितको हालत पनि सरकारका मन्त्रीले बुझिदिए हुने, जनताको पीडामा पनि दुःख मनाए हुने भन्ने अपेक्षा गर्छिन् ।
तामाङका छोरा पञ्च पनि खड्काले जस्तै देशमा स्वास्थ क्षेत्रको पूर्वाधार बलीयो बनाउनु साटो उचार गर्न विदेश धाउने नेताका कार्यशैलीको विरोध गर्छन् । भन्छन्, ‘हाच्छिउ आउँदासमेत उपचारका लागि नेपाली नेता विदेश जाने, हामी मजदुर भने उपचार नपाएर मर्ने ?’ उनलाई लाग्छ, उपचार नै गर्न जान परे आफ्नो पैसामा जानुपर्छ ।
नेताको विदेश उपचार मोह प्रति असन्तुस्टि प्रकट गर्ने यी त प्रतिनिधी पात्र मात्र हुन् । विरामी र कुरुवामात्र होईन डाक्टरहरूलाई नै नेताको कार्यशैली चित्त बुझेको छैन । वरिष्ठ टिभी रोग विशेषज्ञ डाक्टर दीर्घसिंह बम नेताहरूको विदेशमा उपचार गराउने शैलीप्रति हैरानी प्रकट गर्छन् । नेताले देशको स्वास्थ्य क्षेत्र सबल बनाउन छाडेर आफै पलायनवादी मार्गमा लागेको उनलाई पटक्कै मन परेको छैन । बम भन्छन्, ‘नेपालको स्वास्थ्य क्षेत्र सबल छ । दक्ष जनशक्तीको अभाव, छैन अहिले । तर पनि जनतालाई निराश बनाउँदै हाम्रो उपेक्षा गर्दै नेताहरू उपचारका लागि विदेश जान्छन् ।’
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर मदनकुमार पिया उपचारका लागि विदेश जानुलाई नराम्रो ठान्दैनन् । तर, स्वदेशको उपचार पद्धतीमा आशंंका प्रकट गरेको देख्दा भने निराश हुन्छन् । नेपालमा सहजै उपचार हुने रोग बोकेर नेताहरू बिदेश धाएको देख्दा उनलाई उदेक लाग्छ । यस्तो परिपाटीको विरोध गर्दै उनी भन्छन्, ‘हामी जस्तो सुकै रोगको उपचार गर्न सक्छांै । विशेषज्ञको आवश्यक सल्लाह लिनुपरे स्काइप, टेलिमेडिसिन टेक्नोलोजी मार्फत उपचार प्रक्रिया अगाडि बढाउन सक्षम छौं ।’
जब—जब नेताहरू उपचारका लागि विदेश गएको सुन्छन् डा. पियालाई राजा महेन्द्रको सम्झना आउँछ । महेन्द्रलाई जब हृदयघात भयो उनले वीर अस्पतालमा हृदयघात हुने बिरामीका लागि उपयुक्त सेवा नदेखेर नयाँ विभाग खोल्न भनेका थिए । ‘ठुला मान्छेलाई रोग लाग्दा उपचार सेवाको विकास भयो नि । त्यसो हुँदा जनताका लागि पनि काम लाग्यो । अहिलेका नेताले पनि रोग लागेपछि निदानका उपाय स्वदेशमा ल्याउन सके जनता पनि लाभान्वित हुने थिए,’ उनी भन्छन् ।
नेपाली नेता उपचारका लागि विदेश धाउने प्रवृती भने नौलो होइन् । गिरिजा प्रसाद कोइराला पनि जीवनका आखिरी दिनमा उपचारका लागि सिंगापुर पुगेका थिए । राष्ट्रपति डा. रामवरण यादव पेटमा कालो दाग देखिएपछि नेपाली डाक्टरसँग सल्लाह सुझाव नै नलिगी पोहोरसाल जापान गए । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ढाडको उपचारका लागि जापान नै गए । एमालेका उपाध्यक्ष विद्या भण्डारी, एमाओवादी जनार्दन शर्मा, कांग्रेसका गोविन्दराज जोशीलगायतका नेताको उपचार विदेशमा भयो ।
मनोबिज्ञ डा. गंगा पाठक भन्छिन्, ‘सेवा पाउनु बिरामीको अधिकार हो तर जनताको भावनामा चोट पुग्ने काम नेताले गर्न सुहाउँदैन ।’ विदेशीने प्रवृति बढ्दा विरामीले आफ्नो उपचार पद्धतीमा शंका गरेको भोगाइ उनीसँग ताजै छ । उनी भन्छिन्, ‘नेपालमा त सानो भन्दा सानो रोगको पनि उपचार हुँदोरहेनछ भन्ने संकेत नेताका व्यवहारले देखाउँछ । जनतालाई यही व्यवहारले थप निरास बनाउँदै लगेको छ ।’