के एनआरएन अभियानले नेपाललाई नाति फोर्डहरु दिन सक्ला ?

सन्दर्भ : एनआरएनए विश्व सम्मेलन
342
  •  
  •  
  •  

संसारमा आप्रवासनको इतिहास नबोकेको मुलुक र जाति शायदै भेटिएला । विश्वव्यापीकरणको वर्तमान परिवेशमा त यो क्रम झन् बढ्दै गएको छ । रहर वा बाध्यता जुनसुकै कारणले बसाइँ सराइँ गरे पनि मान्छेले आफ्ना आधारभूत आवश्यकता पूरा भएपछि अवश्य पनि पछाडि फर्केर आफ्नो मातृभूमिलाई सम्झिँदो रहेछ । यसको ज्वलन्त उदाहरणको रुपमा आयरल्यान्डको तत्कालीन फोर्ड परिवारको आप्रवासनको इतिहासलाई लिन सकिन्छ ।

आजभन्दा झन्डै १ सय ६० वर्षअघि हेनरी फोर्डका बाजे जोन फोर्ड र बुवा विलियम फोर्ड जन्मभूमि आयरल्यान्ड छोडेर समृद्ध जीवनको खोजीमा अमेरिका छिरेका थिए । बुवा जोन र बाजे विलियम फोर्ड अमेरिकामा भासिँदा उनीहरुले कहिल्यै पनि यो सोचेका थिएनन् कि नाति हेनरी फोर्डले “फोर्ड गाडी” को व्यापार सञ्जाल विश्वभर फैलाउन सक्लान् भनेर ।

हेनरी फोर्डको आविष्कारिक सोच र उत्पादनका तरिका विश्वका धेरै मानिसको दैनिकीमा आमूल परिवर्तन ल्याउने उद्देश्यबाट प्रेरित हुन्थ्यो । उता अमेरिकामा हेनरीको फोर्ड व्यापारले विश्व बजार ढाक्दै थियो तर यता उनका पुर्खाहरुको देश आयरल्यान्डले भने त्यसको फाइदा उठाउन सकेको थिएन । पछि सन् १९१२ मा जब हेनरीले आफ्नो मातृभूमिका मूलवासीहरुसँग पुनर्मिलन गर्ने इच्छा प्रकट गर्दै आयरल्यान्ड पुगे, त्यसपछि मात्र उनको मनमा पुर्खाहरुको देशमा पनि केही गर्नुपर्छ भन्ने सोच पलायो । अन्ततः सन् १९१७ मा हेनरी फोर्ड एन्ड सन लिमिटेड कम्पनी खोलेर आफ्नो पुर्खाको जन्मस्थलमा  फोर्ड उत्पादनको एक डिभिजन नै खडा गरे । त्यसबेला हेनरीले व्यक्त गरेको चर्चित भनाइ छ, “म मेरो पुर्खाको देशलाई अब सडक हुँदै औद्योगिक देशमा बदल्न चाहन्छु ।”

हेनरी फोर्ड न आयरल्यान्डमा जन्मेका थिए, न त उनी त्यहाँको संस्कृति र समुयदासँग नै घुलमिल थिए । तर पनि उनमा आफ्नो मूल थलो भएकै कारण पछि आयरल्यान्डप्रति त्यति धेरै माया र सम्मान जागेर आयो ।

हामी एनआरएनहरुले पनि बुझ्नुपर्छ, हाम्रो भूमिका नित्तान्त फरक छ । राजनीतिक दल र हाम्रो एउटै चाहना मिल्छ, नेपालको समृध्दि । तर राजनैतिक पार्टीहरुको काम राजनैतिक नेतृत्वमार्फत् नेपालको सर्वांगीण विकासको नेतृत्व गर्ने हो भने हामी एनआरएनहरु नित्तान्त भावनात्मक सम्बन्धका आधारमा मात्र नेपालको विकासका लागि एक साझेदार बनेका छौँ । र, मातृभूमि छोड्दाको हामीभित्रको पीडालाई खुशीमा बदल्न चाहन्छौँ ।

एनआरएनए जस्तो डायस्पोरा बनाउने चलन त्यतिबेला नभएकै कारणले हुनुपर्छ,  जोन फोर्डको मातृभूमि आयरल्यान्डले प्रवासी आइरिसहरुबाट प्रतिफल पाउन तीन पुस्ता कुर्नुपरेको । तर एनआरएनएकै कारण भन्नुपर्ला, हाम्रो मातृभूमि नेपालले पहिलो पुस्तामै प्रवासी नेपालीको मिहिनेतको प्रतिफल पाउन सुरु गरिसकेको छ । पहिलो पुस्तामै आफ्नो मिहिनेतको प्रतिफल स्वदेशलाई पनि बाँड्न सक्नेमा एनआरएनएका अग्रज अभियन्ता उपेन्द्र महतो,  जीवा लामिछाने, शेष घले लगायतका व्यक्तित्व पर्दछन् । आफ्नो समृध्दिका लागि नेपालबाट प्रवासिएका तर व्यक्तिगत आकांक्षा पूरा हुने अवस्थामा पुगेपछि उहाँहरु स्वयंले नेपाल फर्केर लगानी गरिरहनु भएको छ ।  संयुक्त लगानीको माध्यमबाट सानो सानो पुँजीलाई जोडेर भए पनि नेपालमा केही गर्नुपर्छ भनेर अरुलाई पनि प्रेरित गरिरहनु भएको छ ।

एनआरएनहरुले नेपालमा गर्न खोजिरहेको लगानीको मूल कारण पनि आफू र आफ्ना पुर्खाको जन्मथलोप्रतिको मातृत्वभाव नै पहिलो कारण हो । त्यसैले त अग्रजहरुले भन्ने गरेका छन्, “आफ्नो व्यक्तिगत अवस्थालाई सबैभन्दा पहिले ध्यान दिऔँ र आफ्नो अवस्था माथि उकासौँ । त्यसपछि सकिन्छ भने बचेको केही समय एनआरएनएमार्फत् मातृभूमिको सेवामा लगाऔँ ।”

मातृभूमिप्रतिको समर्पणभावकै कारण एनआरएन अभियान अघि बढ्दै आज विशाल सञ्जाल बनेको हो । यो कुनै किसिमको सरकारी निकाय पनि होइन । विशुद्ध सामाजिक सेवा भावबाट ओतप्रोत अभियान हो । यो पवित्र अभियानमा कसैले पार्टीगत शक्ति प्रदर्शन गर्न खोज्छ भने त्यसले तपाईँ हाम्रो देशभक्ति र मातृभूमिप्रतिको भावनात्मक सम्बन्धमा चोट पुर्याउन खोजिरहेको हुन्छ भन्ने ठान्नुपर्दछ । स्वाभाविक रुपमा मानिस राजनैतिक प्राणी भएकोले हाम्रो समाजमा विद्यमान विभिन्न पार्टीहरुमा काम गरेका साथीहरुले एनआरएनएको नेतृत्व गर्न सक्छन् । तर त्यसरी आएको व्यक्तिले न त वैचारिक आधारमा अरु सहकर्मीलाई विभेद गर्न पाउँछ,  न त हामी सर्वसाधारणले त्यस्तो व्यक्तिलाई पार्टीगत आँखाले हेरेर उसको कामको मूल्यांकन गर्नुपर्दछ।  एकजना एनआरएन अभियन्ताको मूल्यांकन नित्तान्त उसको विगतको सामाजिक योगदान,  क्षमता र उसले  भविष्यमा दिन सक्ने योगदानको सम्भाव्यता अध्ययनका आधारमा गरिनुपर्दछ ।

त्यसो भनिरहँदा के हामीले नेपालका राजनैतिक पार्टीहरुलाई निषेध गर्न खोजेका हौँ त भन्ने प्रश्न पनि उठाउने गरिएको छ ।  नेपाली जनताको भाग्य र भविष्य बदल्ने मुख्य जिम्मेवारी राजनैतिक दलहरुकै हो । तिनलाई निषेध गरेर नेपाल बदल्ने कल्पनासम्म पनि हामी गर्न सक्दैनौँ । तर एनआरएनए एक तटस्थ र साझा संस्था हो । दलीय आधारमा विभाजित गरेर, आस्थाका आधारमा एनआरएनहरुलाई भड्काएर र राजनीतिक दलका नेताहरुलाई समेत चुनावी गतिविधिमा उतारेर व्यक्तिगत रुपमा शक्ति आर्जन गर्न खोजिएमा यो संस्थामाथिको सबैभन्दा ठूलो घात यही नै हुनेछ ।

हामी एनआरएनहरुले पनि बुझ्नुपर्छ, हाम्रो भूमिका नित्तान्त फरक छ । राजनीतिक दल र हाम्रो एउटै चाहना मिल्छ, नेपालको समृध्दि । तर राजनैतिक पार्टीहरुको काम राजनैतिक नेतृत्वमार्फत् नेपालको सर्वांगीण विकासको नेतृत्व गर्ने हो भने हामी एनआरएनहरु नित्तान्त भावनात्मक सम्बन्धका आधारमा मात्र नेपालको विकासका लागि एक साझेदार बनेका छौँ । र, मातृभूमि छोड्दाको हामीभित्रको पीडालाई खुशीमा बदल्न चाहन्छौँ ।

हामी एनआरएनएहरुको अर्को पनि महत्त्वपूर्ण काम छ, प्रवासिएको भूमिमा एनआरएनहरुको हक, हित र सुरक्षा एवं सामाजिक विकासका लागि एकजुट भएर लाग्नु । आफू बसेको देशमा नेपालीहरुको सहज सम्मिलनका लागि पहल गर्नु, हाम्रा राम्रा कुराहरु उनीहरुलाई दिनु, अनि उनीहरुको राम्रा कुराबाट हामीहरुले सिक्नु । हाम्रा आफ्ना सन्ततिको पहिचान खुल्ने किसिमको समाज निर्माण गर्नु । हाम्रा सन्ततिको पहिचान खुल्ने समाज तब मात्र निर्माण हुन्छ, जब हामी आफू बसेको देशका नागरिकहरुसँग सहकार्य र सांस्कृतिक आदान प्रदानका कुरा गर्छौँ। यस प्रकारको सांस्कृतिक सम्मिलन र मिश्रित संस्कृति निर्माणको कुरा यो सरसर्ती हेर्दा सामान्य पनि लाग्न सक्छ । तर जब हामी हाम्रा सन्ततिको ठाउँमा रहेर सोच्नेछौँ, तब मात्र यसको महत्त्व हामीले देख्नेछौँ । हरेक देशमा त्यहाँका मूलवासीहरु सम्मिलित एक-एकवटा मैत्री परिषद बनाएर विदेशी र नेपाली डायस्पोराबीच सहकार्य भए त्यसले नेपालीको घुलमिल पनि हुने र हाम्रा सन्ततिलाई चाहिएको आधा नेपाली र आधा विदेशी चरित्र  बोकेको नेपाली मिश्रित समाजको निर्माण पनि हुने थियो । साथै, एनआरएनएको सम्मेलनमा  विदेशीहरुसँग मिलेर बनेको मैत्री परिषदका सदस्यहरुलाई पर्यवेक्षकका रुपमा काठमाडौँमा एकसाथ बोलाएर नेपालको विकासका लागि छलफल चलाउन सकिन्छ ।

हामीले हाम्रा सन्ततिलाई आजैदेखि उनीहरुको उद्गमस्थलको जानकारी दिइराख्यौँ र उनीहरुको पहिचान नेपाली र विदेशी मिश्रित संस्कृतिको निर्माणमा योगदान गरिरह्यौँ भने आगामी कयौँ पुस्ता पनि नेपालसँग जोडिइरहनेछ । र, स्वदेशको विकासमा ठूलो योगदान मिल्न सक्छ । आयरल्यान्डले त एकजना नाति हेनरी फोर्ड पाएर आज अग्रगतिमा लम्किरहेको छ तर हामी एनआरएन डायास्पोराले ल्याएको विचारमा अविचलित भएर पवित्र मनका साथ लागिरह्यौँ भने हाम्रो मातृभूमि नेपालले हजारौँ छोराछोरी र नातीनातिनी फोर्डहरु पाउनेछ, जसले आफ्ना पुर्खाको देशमा फर्केर यसको समृध्दिमा योगदान गर्नेछन् ।

(लेखक रोस्यारा एनआरएनए जर्मनीका पूर्वअध्यक्ष हुन् ।)


  •  
  •  
  •