काठमाडौँ, २३ फागुन(ओएनएस) : महाधिवेशन नजिकिँदै जाँदा चर्किएको आन्तरिक संघर्ष र तराई तनावमा कांग्रेसको भूमिका द्विविधापूर्ण भइरहँदा कांग्रेस उपसभापति रामचन्द्र पौडेल एकाएक दिल्ली दौडाहामा हान्निए । दिल्लीबाट फर्केपछि उनले महाधिवेशन लक्षित अभियान र पार्टी नेतृत्वको दाबा झनै चर्को बनाए । उनको उम्मेदवारी अन्ततः सुशील कोइराला वा शेरबहादुर देउवासँगको उधारो सहमतिमा गएर टुंगिने आकलन धेरैतिरबाट भइरहे पनि उनी स्वयंले भने कुनै प्रकारको प्रलोभनमा यसपालि नपर्ने घोषणा पनि गरे । सुशील कोइरालाको निधनले संस्थापनतर्फको उम्मेदवारीका लागि थप मार्गप्रशस्त भयो । त्यसैले यसपालि उनी पार्टी नेतृत्व हात पार्ने र राष्ट्रिय राजनीतिमा हावी हुने लक्ष्यका साथ महाधिवेशनको मैदानमा होमिएका छन् र दौडलाई तीब्रतर बनाएका छन् ।
एउटा राजनीतिक दलको वरिष्ठ नेताका रुपमा पौडेलको दौड अस्वाभाविक पनि होइन । तर, उनको गृहकार्य र संस्थापनभित्रको गञ्जागोल हेर्दा सभापतिको उम्मेदवारीका लागि तम्तयारी नै हो कि होइन भन्नेमा सम्पूर्ण कांग्रेसजन अन्तिम अवस्थासम्मै प्रस्ट थिएनन् । यसको कारण थियो, न त उनीसँग कोइराला परिवारको जस्तो विरासत छ, न त शेरबहादुर देउवाको जस्तो समानान्तर संगठन । कतिसम्म भने विगतमा भीमबहादुर तामाङको नेतृत्वमा चलाइएको तेस्रो धारको बहस जत्तिको कार्यकर्ता पंक्ति परिचालनको ताकत वा बौद्धिक सैद्धान्तिक बहसलाई अगाडि बढाउन सक्ने खूबी पनि उनले प्रदर्शन गर्न सकेनन् । उनको सभापतिको दाबेदारीका पछाडि बलियो टिम वा प्रभावशाली संगठक/विचारकको साथ पनि देखिएन । त्यसकारण पनि अन्ततः देउवा वा कुनै एक कोइरालामा गएर विलय हुने पो हुन् कि भन्ने अनुमानले कांग्रेसवृत्तबाट ठाउँ छाडेको छैन् ।
यसपटक उनले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई आफ्नो पक्षमा पार्न भने प्रशस्तै शक्ति खर्चे । उनले दिल्ली भेटघाटका क्रममा भारतको हितचिन्तक पार्टी कांग्रेस, त्यसमा पनि आफू मात्र अब्बल कोटिको हुन सक्ने गरी प्रस्तुत भए । खासगरी उनले दिल्लीका विभिन्न भेटमा ओली नेतृत्वको सरकारलाई चीनतिर ढल्केको, भारतविरोधी कम्युनिस्ट गठबन्धनलगायतका उपमा दिएर भारतको सच्चा मित्र आफू र आफ्नो पार्टी मात्र रहेको बताउन भ्याए । फेरि पौडेल यस्तो समयमा दिल्ली गएर विश्वासिलो बन्ने प्रयास गरे, जतिखेर १६ बुँदे सहमति र संविधान जारी गर्ने कुरामा सुशील कोइरालाप्रति भारतीय नेताहरु रुष्ट थिए । देउवाले पनि दिल्ली भ्रमणका क्रममा दिएको सन्देशलाई नेपालको संविधानमा अनुदित गर्न नसकेको आरोप खेपिरहेका छन् । यही मौकामा साखुल्ले बन्ने पौडेलको कोसिस कति पूरा भयो भएन, हुन्छ हुँदैन, त्यो ढिलोचाँडो प्रस्ट हुने नै छ ।
आफूलाई भविष्यको पार्टी सभापति र भावी प्रधानमन्त्रीका रुपमा चिनाउने प्रयास गरिएको भेटघाटपछि उनले दिल्लीको सद्भावस्वरुप नेपालको राजनीतिक संकट चाँडै समाधान हुने घोषणा पनि गरेका थिए । त्यसो त उनी भारतीय अधिकारीहरुलाई भेटेपछि चाँडै उत्साहित हुने स्वभावका नेता पनि हुन्, जुन कुरा सुशील कोइराला अमेरिका जाँदा कार्यवाहक सभापतिका हैसियतले भारतीय राजदूतसँगको भेटपछिको अभिव्यक्ति र प्रचारशैलीले पनि प्रमाणित गरेकै हो । त्यतिखेर पनि उनले नाकाबन्दी चाँडै हट्ने संकेत प्राप्त भएको बताएका थिए । भलै, अहिलेसम्म नाकाबन्दीको राजनीति जकडिएकै छ ।
हुन त गएको महाधिवेशनमा तत्कालीन राष्ट्रपति रामवरण यादवले भारतीय राजदूत राकेश सूदलाई कोइरालाको पक्षमा माहौल बनाइदिन आग्रह गरेको घटनाबारे थाहा पाएपछि देउवा आक्रोशित भएका थिए । त्यसले पनि कांग्रेसमा छिमेक फ्याक्टर कति प्रभावशाली छ भन्ने प्रस्ट्याउँछ । यस्ता घटनालाई आधार मान्ने हो भने पौडेलको दिल्ली दौडलाई सामान्य रुपमा पनि लिन सकिन्छ । अझ भन्दा कांग्रेसमा यस खालका प्रयासलाई सामान्य रुपमा लिने गरिएको पनि छ । वीपी, मातृका र सुवर्णशमशेरकै पालादेखि चलेको चलन भन्नेहरु पनि कम छैन, जुन इतिहासले पनि पटकपटक प्रमाणित गरिसकेको छ ।
तर, पौडेल भारत भ्रमणपछि जति उत्साहित भए, त्यो उनले भरपर्दो आशिर्वाद पाएर हो वा होइन भन्नेचाहिँ मतदान दोस्रो चरणमा प्रवेश गरेमा हुने समीकरण र उथलपुथलले मात्र प्रस्ट पार्नेछ । कम्तीमा कांग्रेसभित्रका त्यस्ता शक्तिसूचक यन्त्रहरु मानिने कता ढल्किन्छन् भन्ने कुराले यस कुराको मापन गर्न सकिने कांग्रेसजनहरुको भनाइ छ ।
सम्बन्धित समाचार ः