काठमाडौं, १७ असार (एजेन्सी) । ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगितामा म्याच फिक्सिङ भएका कुराहरू बाहिर आइरहेका छन् । जारी विश्वकपको समूह ‘ए’ मा भएका पहिलो चरणको खेलमा क्यामरूनका ७ खेलाडीले म्याच फिक्सिङ गरेको आशंका गरिएको छ ।
जर्मनीको एक समाचारपत्र डेर स्पिजेलमा प्रकाशित समाचारमा म्याच फिक्सिङको कार्य सिंगापुरमा भएको बताइएको छ । यस सम्बन्धमा क्यामरूनका फुटबल अधिकारीहरूले जाँच गर्ने भएका छन् भने यसमा अफ्रिकन फुटबल फेडेरेशनले पनि जाँच गर्ने बताइएको छ ।
क्यामरूनका खेलाडीहरूले विषेशगरी क्रोयसियाविरूद्धको खेलमा म्याच फिक्सिङ गरेको बताइएको छ । उक्त खेलमा क्यामरून क्रोयसिसासँग ४–० ले पराजित भएको थियो । क्यामरूनको राष्ट्रिय फुटबल कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले यस घटनालाई गम्भिर रूपमा लिएका छौ र उक्त घटनाको गहिराईसम्म पुग्नका लागि अधिकांश विकल्पहरू प्रयोग गरिने छ ।’
यता, विश्वकप फुटबलको आयोजक फिफाले भने यस सम्बन्धमा केही बोलेको छैन् । तर, यस विषयलाई जाँच गर्न भने कुनै पनि कसर बाँकी नछाड्ने जनाएको छ । फिफाले भनेको छ, ‘खेललाई सौहार्दपूर्ण र अनुशासित रूपमा सम्पन्न गर्ने फिफाको प्रमुख उदेश्य हो र सबै खेलहरूलाई गम्भिर रूपमा हेरिने छ ।’
विश्वकप खेल्नका लागि ब्राजिल जाने क्रममा क्यामरूनका खेलाडिहरूले ब्राजिल जान अस्विकार गरेको थिए । उनीहरूले आफूहरूलाई बोनस दिइनुपर्ने माग राख्दै ब्राजिल जान अस्विकार गरेको समाचारहरूमा जनाईएको छ । खेलाडीहरूको उक्त मागलाई क्यामरून फुटबल फेडेरेशनले स्विकृत गरेको थियो । तर, क्यामरूनका खेलाडिहरू एक दिन ढिलो मात्र ब्राजिल पुगेका थिए ।
क्यामरूनले समूह चरणको पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएको थियो भने ब्राजिलसँग ४–१ ले पराजित भएको थियो ।
क्यामरूनका कोच भोल्कर फिन्केले अनुसार क्रोयसियाविरूद्धको खेलमा खेलाडीहरूले निकै नराम्रो खेल खेलेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मलाई थाहा छ, मात्र १० जना खेलाडीहरू मात्र हुँदा खेल्न निकै गाह्रो हुन्छ तर, खेल हार्नुको कारण त्यो होइन ।’