काठमाडौं १० चैत ।
ललितपुरको पूल्चोकस्थित स्थास्थ्यमन्त्री रामजनम चौधरीको क्वाटरमा मंगलबार साँझ ड्रोन क्यामरा खसेको छ । ललितपुरका एसएसपी पिताम्बर अधिकारीका अनुसार नेपाल रोबोट सोसाइटीको ड्रोन क्यामरा क्वाटरको पूर्वी भागमा खसेको हो ।
‘आकाशमा उडिरहेको क्यामरा साँझ खसेको हो’, उनले भने, ‘सामन्य खालको जस्तो छ, परीक्षणको लागि उडाएको होला ।’
आकाशमा उडिरहेको क्यामरा अचानक रुखमा ठोकिएर जमिनमा बजारिएको उनले बताए । क्यामरा क्षतिग्रस्त भएको छ । ‘नेपालमा ड्रोनन क्यामरा उडाउन पाइँदैन भन्ने छ,’ उनले भने, ‘अनुसन्धान लागि अपराध महाशाखा पठाएका छौं ।’ उडानका लागि स्थानीय प्रशासनको स्वीकृति लिनु पर्ने कानुनी प्रावधान छ । क्यामरा खसेपछि गृहमन्त्री शक्तिबहादुर बस्नेत घटनास्थल पुगेको उनले बताए । क्यामेरा चारवटा पखेटा भएको, २ फिट जति चौडाइ भएको सेतो रंगको छ ।
क्यामरालाई थप अनुसन्धानका लागि अपराध महाशाखामा पठाइएको अधिकारीले जानकारी दिए ।
नेपाल रोवटिक सोसाइटीले ड्रोन क्यामरा उडाउनका लागि स्थानीय प्रशासनसँग अनुमति लिएको दाबी गरेको उनले बताए । ड्रोन क्यामरा उडाउनका लागि अनुमति लिने नेपाल रोवटिक सोसाइटी नेपालको एक मात्र संस्था भएको प्रहरीको भनाई छ । प्रहरीले नेपाल रोवटिक सोसाइटीसँग थप जानकारी लिन बुधबार बोलाएको छ
कान्तिपुरबाट