काठमाडौ, असार, २० – सभासदले तजविजमा खर्च गर्न पाउने निवर्जाचन क्षेत्र विकास कोषको रकम बढाउन सत्तासीन र प्रतिपक्षी सबै दलका सभासद एकमत भएका छन् ।
सरकारको नेतृत्व गरेको कांग्रेस र साझेदार एमालेका सभासदले थालेको कोषको रकम बढाउने अभियानमा प्रमुख प्रतिपक्षी एमाओवादीदेखि अधिकांश साना दल पनि एक ठाउँमा छन् । यसअघि २०५१ सालमा सांसद सुविधामा पजेरो खरिद गर्ने विषयमा पनि सवै दलका सांसद एकमत भएका थिए ।
तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवाले कांग्रेस, एमाले राप्रपालगायत सवै दलको दबाबमा सांसदलाई कर छुटमा पजेरो गाडी खरिद गर्न दिने निर्णय गरेका थिए । सोही पजेरो काण्ड पुनराबृत्ति हुने गरी निर्वाचन क्षेत्रमा सभासदले तजबिजमा खर्च गर्न पाउने गरी पाँच करोड रुपैयाँ विनियोजन गर्ने मागमा सभासदहरु एकढिक्का भएका हुन् ।
कांग्रेस, एमाले, एमाओवादीलगायत सवै दलभित्र सभासदले निर्वाचन क्षेत्र कार्यक्रमका लागि वाषिर्क पाँच करोड विनियोजन गराउन दबाब दिँदै आएका छन् ।
अन्नपूर्ण पोस्ट दैनिक