वैदेशिक रोजगारीका गुनासो सुन्न कल सेन्टर

535
  •  
  •  
  •  

काठमाडौं, १८ चैत(ओएनएस) : वैदेशिक रोजगारीमा गएकाहरुको गुनासो सुन्न र गुनासोलाई समाधान गर्न सिंहदरबारमा कल सेन्टर शुरु भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा औपचारिक रुपमा कल सेन्टर शुरु भएको हो ।

वैदेशिक रोजगार बोर्डको व्यवस्थापनामा शुरु भएको कल सेन्टरमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, वैदेशिक रोजगार बोर्डलगायत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरूका सेवा, कार्यक्रमहरूबारे कुनै पनि जानकारी, सुझाव वा गुनासो गर्न सकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

कल सेन्टर सुरुमा बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने र सेवाग्राहीको आवश्यकता अनुसार चौबीसैघण्टा सञ्चालन गरिनेछ ।

गुनासो वा सुझावको सुनुवाई भए/नभएको अनुगमन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नै गर्नेछ ।
गुनासो, जानकारी वा समस्या परेका ११४१ नम्बरमा डायल गरेर जानकारी वा गुनासो गर्न सकिनेछ ।

शुरुमा नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले यो नम्बरमा सम्पर्क गर्दा कुनै शुल्क लाग्ने छैन । एनसेल प्रयागकर्तालाई समेत निःशुल्क हुनेगरी व्यवस्था मिलाउने बोर्डको तयारी छ ।
विदेशमा हुनेले ९७७ – १–५९७०००८ मार्फत सशुल्क फोन गरेर गुनासो वा जानकारी लिन सक्नेछन् ।

वैदेशिक रोजगारीका लागि जानुअघि देशभित्रै ठगीमा पर्दा वा विदेशमा पुगिसकेपछि भनेको काम र तलब नपाएर समस्यामा पर्दा कल सेन्टरमा फोन गरेर सहयोग माग्न सकिने छ ।

गुनासा र समस्या सुनेर तत्काल समाधान गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिएका छन् ।

कल सेन्टरमा फोनसँगै सामाजिक सञ्जालबाट पनि गुनासा र समस्या टिपाउन सकिने गरी व्यवस्था मिलाइएको छ ।
फेसबुक, इमो, भाइबर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालबाट पनि गुनासो गर्न सकिने गरी कलसेन्टरको स्थापना गर्न लागिएको छ । ९७७ – १–५९७०००८ नम्बरमार्फत भाइवर, इमो म्यासेन्जरमार्फत आफ्नो गुनासो सुझाव र जानकारी लिन सकिने छ ।


  •  
  •  
  •