नेपाल-भारत सम्बन्ध पुनरावलोकन गर्न ‘प्रबुद्ध समूह’ गठन

143
  •  
  •  
  •  

काठमाडौं १४ माघ ।
सरकारले नेपाल-भारतबीचको सम्बन्ध पुनरावलोकनका लागि विज्ञहरु सम्मिलित ‘प्रबुद्ध समूह’ गठन गरेको छ । दुई मुलुकबीच सम्बन्ध चिसिइरहेका बेला मन्त्रिपरिषद्को बुधबारको बैठकले पुनरावलोकनका लागि समुह गठन गरेको हो ।

समूहमा भारतका लागि नेपालका पूर्व राजदूत डा भेषबहादुर थापा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्व कानूनमन्त्री नीलाम्बर आचार्य र सभासद् तथा परराष्ट्र मामिला जानकार डा. राजन भट्टराई छन् । दुबै मुलुकबीच यस्तो समूह गठन गर्ने यसअघि नै सहमति भने भएको थियो । तर प्राथमिकतामा नपर्दा नेपालले समूह गठन गरेको थिएन ।

द्धिपक्षीय सहमति र सम्झौताहरु बेवास्ता गर्दै भारतले नाकाबन्दी, आपूर्ति व्यवस्थामा असर पार्ने लगायतका गतिविधि गर्न समेत गर्न थालेपछि सम्बन्ध पुनरावलोकनको आवश्यकता अझै बढी महसुस भएको थियो । जनस्तरबाट समेत सम्बन्ध पुनरावलोकनको आवाज उठ्न थालेपछि सरकारले समूह गठनलाई अहिले प्राथमिकता दिएको हो ।

समुहको समयावधि दुई बर्षको हुने सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिए । संयोजक, विस्तृत कार्ययोजना र सचिवालय बनेपछि समूहले काम अघि बढाउने छ’ मन्त्री राईले कान्तिपुरसँग भने ।

समूहले १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धी देखि अहिले सम्मका सबै सहमति र सम्झौताहरुको अध्ययन गरी सरकारलाई सुझाव पेश गर्नेछ । यसअघिको मन्त्रिपरिषद्को बैठकमै समूह गठनको प्रस्ताव परराष्ट्र मन्त्रालय लगेको थियो । मन्त्रिपरिषद्का छलफल भए पनि व्यक्तिको टुंगो नलाग्दा निर्णय भएको थिएन । समूहमा संयुक्त राष्ट्रसंघका पूर्व उमहासचिव कुलचन्द्र गौतमको नाम अघिल्लो बैठकमा प्रस्तावित थियो । तर बुधबारको बैठकले गौतमको सट्टा पूर्व कानूनमन्त्री आचार्यलाई समूहमा राख्ने निर्णय गरेको हो ।

तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ मा भारतको भ्रमण गरेका बेला १९५० को सन्धी पुनरावलोकन लगायतको बिषय प्रवेश गराएका थिए । त्यसपछि पटक पटक यो बिषय उठ्न गर्थ्यो । परराष्ट्रमन्त्री सचिवस्तरमा नेपाल भारतको बीचमा सम्बन्धकाबारेमा नियमित हुने गर्थे । तर ती छलफल मात्र पर्याप्त नभएको महसुस भएपछि पूर्ववर्ति सुशील कोइराला नेतृत्वको सरकारका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेको भारत भ्रमणका बेला प्रबृद्ध समुह बनाउने सकिने सैद्धान्तिक सहमति भएको थियो । त्यसपछि गत बर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउदा प्रबुद्ध समुहबारे दुई मुलुकबीच औपचारिक सहमति भएको थियो । उक्त सहमतिअनुसार दुबै मुलुकले संयुक्त रुपमा काम गर्नका लागि एक-एक लाख डलर रुपैया पनि छुट्याउने पनि बताएका थिए ।

नेपाल तर्फको समूहले औपचारिक पाएपछि अब दोहोरो छलफल र संवाद सुरु हुनेछ । ‘नेपाल र भारतबीचको सम्बन्ध र सहमतिबारे बहुआयामिक रुपमा अध्ययन गरेर यसले सरकारलाई सुझाव दिनेछ’ सञ्चारमन्त्री राईले भने । समूहले नेपाल र भारत दुबै मुलुकमा विज्ञहरुसंग छलफल, अध्ययन, अनुसन्धान, अन्तरक्रिया लगायतका कार्यक्रमहरु गर्न सक्नेछन । त्यस्ता कार्यक्रमहरुबाट आउने सुझाव र विभिन्न पक्षहरुको अध्ययन गरी दुबै मुलुकमा समूहले आ-आफ्ना सरकारलाई सुझाव दिनेछन् । नेपाल र भारतबीच सिमा विवाद, व्यापार पारवहन सम्बन्धि सहमति सम्झौता लगायतका बिषयहरुमा पटक पटक विवाद र बहस हुने गरेको छ । यो समूहले तीनै विवादहरुको निरुपण गर्नका लागि सुझाउने छ ।
कान्तिपुरबाट


  •  
  •  
  •