सुखानी काण्डका सहित २२ योद्धालाई सहिद घोषणा

180
  •  
  •  
  •  

काठमाडौं २० फागुन ।
सरकारले पञ्चायती शासनविरुद्ध संघर्षरत रहँदा विभिन्न समयमा तत्कालीन सत्ताबाट मारिएकाको योगदानलाई कदर गर्दै सुखानी काण्डका सहित २२ लोकतान्त्रिक योद्धालाई सहिद घोषणा गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सहिद घोषणा गरेको जानकारी पर्यटन मन्त्री आनन्द पोखरेलले दिए । उनका अनुसार सहिद घोषणा भएकामा भीमदत्त पन्त (डडेलधुरा), दुर्गानन्द झा (धनुषा), शमशेरबहादुर खत्री (गुल्मी), रामनाथ दाहाल (झापा), नेत्र घिमिरे (झापा), वीरेन राजवंशी (झापा), कृष्ण कुइँकेल (झापा), नारायणप्रसाद श्रेष्ठ (झापा), ऋषि देवकोटा ‘आजाद’ (सिन्धुली), क्याप्टेन यज्ञबहादुर थापा (ओखलढुंगा), भीमनारायण श्रेष्ठ (धनकुटा), राम उपाध्याय (सिरहा), लक्ष्मण उपाध्याय (सिरहा), लीलानाथ दाहाल (ओखलढुंगा), खगेन्द्रराज दाहाल (ओखलढुंगा), गोकर्णबहादुर कार्की (ओखलढुंगा), रत्नकुमार वान्तवा (इलाम), सूर्यनाथ यादव (सिरहा), हरि नेपाल (ताप्लेजुङ), चन्द्रबहादुर पुरी (संखुवासभा) र चन्द्र डाँगी (झापा) छन् ।

पञ्चायती शासनकालमा सोलुको टिम्बुरबोटे र धनकुटाको छिन्ताङलगायत स्थानमा तत्कालीन सत्ताबाट मारिएका लोकतान्त्रिक योद्धाहरूलाई सहिद घोषणा गर्ने सम्बन्धमा सुझाव दिन उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावलको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा उपप्रधान तथा सहकारी विकासमन्त्री चित्रबहादुर केसी, गृहमन्त्री शक्तिबहादुर बस्नेत र सिँचाइमन्त्री उमेश यादव सदस्य छन् ।

पुनर्निर्माण कार्यविधि पारित
सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि जग्गा प्राप्ति र पुनर्निर्माणसम्बन्धी विभिन्न निर्देशिका र कार्यविधि स्वीकृत गरेको छ । मन्त्रिपरिषदले पुनर्निर्माण प्राधिकरणले तयार गरेका ती कार्यविधि स्वीकृत गरेको हो ।

तीन महावाणिज्य दूत नियुक्त
सरकारले तीन सहसचिवलाई महावाणिज्यदूतमा नियुक्त गरेको छ । मन्त्रिपरिषदले सूचना तथा सञ्चार मन्त्रालयका एकनारायण अर्याललाई कोलकाताका लागि, पर्यटन मन्त्रालयका गोविन्द कार्कीलाई ल्हासाका लागि र सामान्य प्रशासन मन्त्रालयका कमल भट्टराईलाई हङकङका लागि महावाणिज्य दूत नियुक्त गरेको हो ।

विभिन्न ११ मुलुकमा राजदूत रिक्त भएको लामो समय भइसके पनि मन्त्रिपरिषदले नियुक्ति प्रक्रिया अघि बढाएको छैन । थप १० मुलुकमा राजदूत पद रिक्त हुँदैछ । सत्तारूढ दलहरूबीच भागबन्डा नमिलेकाले राजदूत नियुक्ति प्रक्रिया अघि बढ्न नसकेको हो ।

युवा परिषदमा ढुंगेल
मन्त्रिपरिषदले राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेललाई नियुक्त गरेको छ । राष्ट्रिय युवा नीति कार्यान्वयनका लागि परिषद गठन भएको हो ।
कान्तिपुरबाट


  •  
  •  
  •