विदेशी नागरिकको शव ल्याउन नीतिगत व्यवस्था

195
  •  
  •  
  •  

सरकारले विशिष्ठ विदेशी नागरिकको शव नेपाल ल्याएर अन्तेष्टि गर्न सक्ने नीतिगत व्यवस्था गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले नेपालको समाजिक तथा सांस्कृति अवस्थामा खलल नपुग्ने गरी विशिष्ट विदेशी नागरिकको शव नेपाल ल्याएर अन्तेष्टि गर्न सक्ने निर्णय गरेको छ ।

गत जेठ २८ गते जर्मनीमा हृदयघातका कारण निधन भएका ६१ वर्षीय धर्म गुरु श्यामार्पा रिम्पोछेको शव नेपाल ल्याउन अबरोध भएपछि सरकारले विदेशी नागरिकको शव नेपाल ल्याएर अन्तेष्टि गर्न नीतिगत व्यवस्था गर्ने निर्णय गरेको हो ।

यसअघि गृह र परराष्ट्र मन्त्रालयले कानुनी आधार नभएको भन्दै धर्मगुरुको शव नेपाल ल्याउन रोक लगाएका थिए । सरकारले शव नेपाल ल्याउन रोक लगाएपछि भुटानी प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयलाईपत्र पठाएर धर्मगुरुको शव नेपाल ल्याउन दिन आग्रह गगेका थिए ।

गृह र परराष्ट्र मन्त्रालयले भुटान जन्मभुमि भएका र नेपाललाई कर्मभुमि बनाएका रिम्पोछेको सम्बन्ध स्वतन्त्र तिव्वतपक्षधर सँग सम्बन्ध भएको आशंकका उनको शव नेपाल ल्याउन रोक लगाएको थियो । तर, रिम्पेछेका अनुयायीहरुले भने विभिन्न माध्यममार्फत उनको शव नेपाल ल्याउन पहल गरिरहेका थिए ।

रिम्पोछेको शव नेपाल ल्याउन साना दलका सभासदले निकै पहल गरेका थिए । उनीहरुले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर धर्मगुरुको शव नेपाल ल्याउने वातावरण मिलाउन आग्रह गरेका थिए ।
हाल रिम्पोछेको  शव भुटानको थिम्पुमा राखिएको छ ।  । सरकारले उनको शव ल्याउन दिने निर्णय गरेपछि यही १६ गते रिम्पोछेको शव उनले स्थापना गरेको रानीवनस्थित बौद्ध गुम्बामा अन्तेष्टि गरिने भएको छ ।


  •  
  •  
  •