संसद बैठककाठमाडौं, २१ जेठ । एमाओवादीसहितका प्रतिपक्ष दलले अबरोध गरेपछि व्यवस्थापिका संसदको बैठक चौथो पटक अबरुद्ध बनेको छ । सरकारले जथाभावी गरेको रकमान्तर रोक्नुपर्ने, निर्वाचनमा भएको धाँधलीका विषयमा छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने र उच्चस्तरीय राजनीतिक समिति गठन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल एमाओवादीले शुक्रवार सुरु भएको संसदको बजेट अधिवेशन अबरुद्ध पारेको थियो । पछि एमओवादीलाई अन्य प्रतिपक्षी दल राप्रपा नेपाल र मधेसी दलले साथ दिँदै आएका छन् ।
बुधवारको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दलहरुले उठेर विरोध जनाएपछि सभामुख सुवास नेम्वाङले एमाओवादी सभासद अग्नी सापकोटालाई बोल्ने समय दिएका थिए । सभासद सापकोटाले संसद अबरोध हुँदा अन्तर्राष्ट्रिय बेइजत भएको बताए । उनले आफूहरुले उठाएको मागप्रति प्रधानमन्त्री गंभिर नबनेको आरोप लगाए । उनले विगतमा भएका सहमति कार्यान्वयन नहुनु राजनीतिक बेइमानी भएको उल्लेख गर्दै संसद सुचारु गर्न प्रतिपक्ष दल लचिलो बनेको बताए । सदन अबरुद्ध हुँदा प्रधानमन्त्री कोइराला भने उपस्थित थिएनन् ।