अध्यक्ष नेम्वाङ कस्दै, सभासद फुत्किदै

352
  •  
  •  
  •  

create_thumb.phpभूवन क्षेत्री
काठमाडौं (ओएनएस)  : संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले ३० वैशाखमा संविधानसभा बैठकमा सभासदहरूलाई विदेश नजान ‘रुलिङ’ नै गरे । त्यसको १० दिन नपुग्दै मंगलबार नेपाली कांग्रेसका नौ जना सभासद एकै पटक विदेश भ्रमणमा निस्किएका छन् । त्यो, पनि संविधानसभाका अध्यक्ष नेम्वाङसँग कुनै परामर्श नगरी । 
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, एमाओवादी नेता बाबुराम भट्टराई चीन भ्रमणबाट फर्किएको केहीदिन मै  कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुको नेतृत्वमा नौ सभासदसहित २० जना चीन भ्रमणमा निस्किएका छन् । नेपाली कांग्रेसको पार्टाी कार्यालयबाट विज्ञप्ती जारी गरी संसद सचिवालयमा जानकारी दिइएको ब्यहोरोका पत्र फ्याक्स मार्फत पठाइएको छ । संविधानसभा नियमावलीमा कुनै सदस्य संविधानसभाको वैठकमा अनुपस्थित हुने अवस्था आए संविधानसभाका अध्यक्षलाई सूचना दिएर मात्रै अनुपस्थित रहने पाइने व्यवस्था छ । 
नियमावलीको परिच्छेद १६ को ‘अनुपस्थितको सूचना’को उपनियम १ दशवटा वा त्यो भन्दा बढी वैठक र २ मा दशभन्दा कम बैठकमा उपस्थित हुने अवस्था आए अध्यक्षलाई अग्रीम सूचना दिनुपर्ने उल्लेख छ । सभाध्यक्षले स्वीकृत गरेपछि मात्रै सूचनाअनुसार अनुपस्थित रहन पाइने व्यवस्था गरिएको छ । 
तर, सभाध्यक्ष नेम्वाङले रुलिङ गरेपछि पनि विदेश भ्रमणमा जाने कुनै पनि सभासदले सूचना दिएका छैनन् ।  कांग्रेस सभासद जेठ १६ गते मात्रै नेपाल फर्किने छन् । त्यस हिसाबले लगातार संविधानसभाको बैठक बसे उनीहरू १० दिन अनुपस्थित रहनेछन् । संविधानसभाका अध्यक्ष नेम्वाङले विदेश मात्र हैन, जिल्लामा हुने कार्यक्रममा समेत सहभागी नभई राजधानी मै बसी संविधान निर्माणमा क्रियाशिल रहन रुलिङ गरेका थिए । 
त्यसलाई लत्याउँदै सभासदहरू विदेश भ्रमणमा निस्किएका हुन् । संविधानसभाका अध्यक्ष नेम्वाङले रुलिङपछिको भ्रमणलाई संविधानासभाकै अपमानका रुपमा लिएको उनको सचिवायले जनाएको छ । ‘सभाध्यक्ष ज्यूले गरेको रुलिङले संविधान निर्माण पहिलो प्राथमिकता भएको प्रष्ट पारिसकेको छ’ संसद सचिवालयका एक अधिकारीले भने, ‘तर, सभासदहरू धेरै गम्भीर किन हुन सकेका छैनन् यो गम्भीर प्रश्न हो । ’ 
सभाध्यक्षले नेम्वाङले भने अब आम जनताले नै मुल्याङक गर्ने टिप्पणी गरे । ‘मैले बारबार सभासद र राजनीतिक दलका नेता ज्यूहरूको समेत ध्यानाकषर्ण गराइ रहेको छु ’ उनले भने ‘यति हुँदा पनि उहाँहरू गम्भिर बन्नुहुन्न भने अब जनताले मुल्याङकन गर्नेछन् । ’

  •  
  •  
  •