संसदीय समितिका सभापति निर्विरोध निर्वाचित हुँदै

447
  •  
  •  
  •  

काठमाडौं ११ भदौ (ओएनएस) : वस्थापिका संसद अन्तर्गतका ११ वटा समिति सभापति निर्विरोध निर्वाचित हुने भएका छन्। हिजो साँझसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा ११ उपसमिति सभापति पदमा एकल उम्मेदवारी परेको हो। निर्धारित समयसम्म विधायन समितिमा मात्रै दुई जनाको उम्मेदवारी परेको छ। उपसमितिका सभापति छान्न आज निर्वाचन मिति तोकिएको छ।

११ वटा समितिमा एक एक जनाको मात्रै उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित हुने संसद सचिवालयले जनाएको छ । निर्विरोध निर्वाचित हुनेहरुमा अर्थ समितिमा एमालेका प्रकाश ज्वाला, अन्तरार्ष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा एमाओवादीका प्रभु साह, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा कांग्रेसका भिष्मराज आङ्देम्बे, सामाजिक न्याय तथा मानवअधिकार समितिमा राप्रपा नेपालका सुशील कुमार श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ। यसैगरी कृषि तथा जलस्रोत समितिमा कांग्रेसका गगनकुमार थापा, विकास समितिमा एमालेका रवीन्द्र अधिकारी, महिला बालबालिका जेष्ठ नागरिक र समाजकल्याण समितिमा एमालेका रन्जुकुमारी झा, सुशासन तथा अनुगमन समितिमा एमालेका शेरधन राई, राज्य व्यवस्था समितिमा कांग्रेसका दिलबहादुर घर्ती, संसदीय सुनुवाइ विशेष समितिमा कांग्रेसका कुलबहादुर गुरुङ र वातावरण संरक्षण समितिमा फोरम लोकतान्त्रिकका जनकराज चौधरीको एकल उम्मेदवारी परेको छ।

विधयान समितिमा समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र थरुहट तराइ पार्टीकी गंगा चौधरी सत्गौवाको उम्मेदवारी परेको छ। यो समिति साना दलको भागबन्डामा परेको थियो।

संसद सचिवालयले व्यवस्थापिका संसद अन्तर्गतका १२ वटा समितिको सभापति चयनका लागि आज ५ बजे सम्बन्धित समितिमा निर्वाचन समय तोकेको छ। १२ मध्ये मतदान भने विधायन समितिमा मात्रै हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए ।


  •  
  •  
  •