काठमाडौं १७ माघ (ओएनएस) ; संविधानसभाले गठन गरेको प्रश्नावली प्रस्ताव निर्माण समितिको बैठक आज बस्दैछ। बैठकका लागि संविधानसभा सचिवालयले प्राविधिक तयारी गरिसकेको छ। बैठकको अध्यक्षता जेष्ठ सदस्यको हैसियतमा कांग्रेस नेता कुलबहादुर गुरुङले गर्नेछन् । एमाओवादी नेतृत्वको प्रतिपक्षी मोर्चाको विरोधका बीच माघ ९ गते संविधानसभाको बहुमतबाट निर्मित समितिको कार्यादेश काम सुरु गरेको मितिले पाँच दिन मात्र छ । बैठक एक बजे बोलाइएको छ ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली प्रस्ताव निर्माण समितिको बैठक र कार्यसूचीका बारेमा मुख्य दलका सचेतक तथा नेताहरुसँग परामर्श गरिसकेका छन्। सभाध्यक्ष नेम्वाङले तोकिएको समयमा बैठक बस्ने र संविधानसभा नियमावलीअनुसार प्रक्रिया अघि बढ्ने बताए ।
संविधानसभाको माघ ११ गतेको बैठकले संविधान लेखनका विवादित विषयमा प्रश्नावलीका लागि प्रस्ताव निर्माण गर्न सभाध्यक्षले ७३ सदस्यीय समिति गठन गरेका थिए । ७३ सदस्यीय समिति घोषणा भए पनि ४९ जना सदस्यको नामावली मात्रै घोषणा गरिएको छ।
एमाओवादी, मधेसी मोर्चालगायका विपक्षी दलको प्रतिनिधित्वका लागि २४ स्थान खाली राखिएको हो । एमाओवादी, मधेसी मोर्चालगायका विपक्षी दलले सभाध्यक्षले अघि बढाएको प्रक्रियामा सहभागी नहुने भन्दै अहिलेसम्म प्रश्नावली समितिमा रहने सभासद्को नाम दिएका छैनन्।