अल्पमत र बहुमतका दुई प्रतिवेदन आज संविधानसभामा

117
  •  
  •  
  •  

काठमाडौं १६ कात्तिक (ओएनएस) : अन्तिम समयसीमा पनि दलहरु सहमति गर्न असफल भएछि फेरि पुरानै प्रक्रिया अनुसार संविधानसभामा प्रतिवेदन बुझाइने भएको छ। यसपटक विवादित र सहमतिका विषय वाहेक सबै दलका धारणा सहितका दुई प्रतिवेदन बुझाइनेछ । दलीय धारणासहित अल्पमत र बहुमतका दुई प्रतिवेदन संविधानसभामा पठाउन प्रमुख दल शनिबार सहमत भएका हुन् । आज बस्ने संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले त्यसै अनुसारका दुईवटा प्रतिवेदन बुझाउने सम्वाद समितिका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । उनका अनुसार दिउँसो २ बजे बस्ने बैठकले प्रतिवेदन तयार गर्ने  र संविधानसभा अध्यक्षसमक्ष हस्तान्तरण हुनेछ ।

दलहरूबीच २५ कात्तिकसम्म प्रतिवेदनको सैद्धान्तिक छलफल सक्ने गरी काम गर्ने समझदारी भएको छ । सो समयभित्र सहमति नभए ८ माघमा संविधान जारी गर्न कठिन रहेको सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेताहरूलाई ध्यानाकर्षण गराएका थिए । अल्पमत र बहुमतको प्रतिवेदन सभामा पठाउने तयारीसँगै नियमावलीअनुसार प्रक्रियामा जाने ढोका खुल्नेछ ।

संविधानसभा नियमावलीमा भने बहुमत र अल्पमतका प्रतिवेदन बुझाउने प्रावधान छैन । संविधानसभा सचिवालयका एक अधिकारीले नियमावलीमा नै नभएको व्यवस्थामा दलहरुले सहमति गरेको देख्दा अचम्म लागेको बताए । ‘नियमावलीमा बहुमत र अल्पमतको प्रतिवेदन बुझाउने भन्ने व्यवस्था छैन’ उनले भने ‘कसरी त्यस्तो सम्भाव होला सहमति र असहमतिको मात्रै सम्भव छ बहुमत र अल्पमतको सम्भव छैन । ‘

संघीयतामा सत्तारुढ दल कांग्रेस र एमालेको धारणा समान छ । एमाओवादीले तत्कालीन संविधानसभाको विषयगत समितिको प्रतिवेदनलाई नै बटमलाइन बनाएको छ । ३१ असोजमा संविधानसभाले विवादित विषयमा सहमति खोज्न १५ कात्तिकसम्मको समय दिएको थियो । संविधानसभाले १५ कात्तिकसम्म सहमति नभए १६ कात्तिकमा प्रश्नावलीसहितको प्रतिवेदन दिन पनि निर्देशन दिएको थियो ।


  •  
  •  
  •