‘प्रक्रिया छोट्ट्याएर माघ ८ मै संविधान’

140
  •  
  •  
  •  

ca-buildingकाठमाडौं १७ पुस ।
सत्तारुढ कांग्रेस र एमाले प्रक्रिया छोट्ट्याएर ८ मै नयाँ संविधान जारी गर्न एकमत देखिएका छन्। नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठकले बुधबार प्रक्रिया छोट्याएर भए पनि माघ ८ भित्रै नयाँ संविधान जारी गर्नुपर्ने निष्कर्ष निकालेपछि यस्तो वातावरण बनेको हो। अर्को सत्ता साझेदार दल एमालेले भने यसअघि नै प्रक्रियाबाट गएर भए पनि माघ ८ मै संविधान जारी गर्नुपर्ने निष्कर्ष निकालिसकेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई तोकिएकै समयमा संविधान जारी गर्न आवश्यक कानुनी व्यवस्था मिलाउन आग्रह गर्नेसमेत निर्णय लिएको छ।

कांग्रेसले विवादित विषयमा सहमति प्रयास जारी राख्दै संविधानसभाबाट नयाँ संविधान निर्माण प्रक्रिया अघि बढाउनुपर्ने ठहर गरेको छ। ‘संविधानका विवादित विषयमा अझै सहमति हुन नसक्ने भन्ने छैन,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकपछि भने, ‘विषयमा सहमति खोज्दै जानुपर्छ, प्रक्रियालाई पनि अघि बढाउनुपर्छ भन्ने हाम्रो निष्कर्ष रह्यो।’

संविधानसभा निर्वाचनअघि दलहरूले एक वर्षभित्र नयाँ संविधान जारी गर्ने प्रतिबद्धता जनतामाझ गरेको जनाउँदै पौडेलले भने, ‘माघ ८ मा संविधान जारी गर्ने अठोटलाई पूरा गर्न आवश्यक नियम निलम्बन र संशोधन गरेर भए पनि संविधान ल्याउनुपर्छ।’

पदाधिकारी बैठकले संविधानसभा अध्यक्ष नेम्वाङले माघ ८ भित्रै संविधान जारी गर्ने उद्देश्यसाथ ल्याउने प्रस्तावलाई स्वीकार गर्ने निर्णय गरेको छ। ‘माघ ८ मै संविधान जारी गर्न संविधानसभा बैठक सञ्चालन नियमावलीका केही दफा निलम्बन गर्दै प्रक्रिया छोट्याउनुपर्छ,’ कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा संविधानसभा अध्यक्षले माघ ८ भित्रै संविधान जारी गर्ने उद्देश्यसहित ल्याउने प्रस्तावमा हाम्रो (कांग्रेसको) समर्थन रहन्छ।’

बैठकमा विवादित विषयमा सहमतिका लागि भएका दलीय वार्ता र छलफलको समीक्षा गरिएको थियो। संघीयता, शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणालीका विषयमा दलीय सहमति जुट्न सकेको छैन।
‘लेनदेन गरेर माघ ८ मै संविधान’
प्रधानमन्त्री सुशील कोइरालाले ‘सबै पक्षको जित हुने गरी लेनदेनका आधारमा’ नयाँ संविधान निर्माण हुने बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले वार्ता र संवादबाटै संविधानका विवादित विषय टुंगो लगाउने बताए। ‘कुनै पनि पक्षले हार महसुस नगर्ने गरी बराबरी सहमति गर्न कांग्रेस तयार छ,’ कोइरालाले भने, ‘लेनदेनका आधारमा सहमतिमा पुग्नुपर्छ।’

संविधान निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै प्रधानमन्त्री कोइरालाले माघ ८ भित्रै संविधान आउने दाबी गरे। अब पनि संविधान नआए मुलुकमा अनर्थ हुने जनाउँदै उनले राजनीतिक स्थिरता ल्याउन र मुलुकको समृद्धिका लागि लोकतान्त्रिक संविधान आवश्यक रहेको बताए। ‘अहिलेसम्म संविधानका विषय टुंगिसक्नुपर्थ्याे,’ कोइरालाले भने, ‘यत्रो वर्ष भयो, अब पनि खेलबाड गर्न पाइँदैन, संविधान आउँछ।’

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बुधबार बोलाएको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेता नै उपस्थित नभएको प्रति संकेत गर्दै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको गम्भीर घडीमा शीर्ष नेतालाई बाहिरको कार्यक्रममा नजान आग्रह गरे। नेम्वाङले बुधबार बिहान साढे ११ बजे बोलाएको शीर्ष बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता अनुपस्थित थिए।

कार्यक्रममा उपसभापति रामचन्द्र पौडेलले अहिले पनि संविधानसभाबाट संविधान निर्माण हुन नदिने खेल सुरु भएको बताउँदै सबैको खबरदारी आवश्यक रहेको औंल्याए। संविधानसभा अध्यक्षले बोलाएको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेता नै अनुपस्थित भएर संविधान निर्माण प्रक्रियालाई बेवास्ता गरेको पौडेलको भनाइ थियो। ‘कांग्रेसलाई संविधान चाहिएको छ, हामी (बैठकमा) गयांै,’ पौडेलले भने, ‘आज संविधान निर्माण गर्ने बेला अन्त घुमेर भोलि कांग्रेस नेतृत्वले संविधान बनाउन सकेन भन्न बेर छैन।’

एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अध्यक्ष कमल थापा संविधानसभा अध्यक्ष नेम्वाङले बोलाएको बैठकमा अनुपस्थित भएपछि बुधबार बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेन।

संविधानसभाअन्तर्गत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम सकिन लागेपछि आगामी प्रक्रियाका विषयमा दलीय सहमतिका लागि नेम्वाङले बैठक बोलाएका थिए। ओली र थापा अनुपस्थित भएपछि बैठक बिहीबार बिहानसम्म स्थगित गरिएको छ।

एकीकृत नेकपा माओवादी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले एमाले अध्यक्ष ओलीसहितका नेताको उपस्थितिमा मात्र छलफल गर्नुपर्ने जनाएपछि बैठक बिहीबार बिहान साढे ११ बजेसम्मलाई स्थगित गरिएको हो। नागरिकबाट


  •  
  •  
  •