संविधान जारी गर्ने नयाँ मिति तय गरिदै

435
  •  
  •  
  •  

काठमाडौं, १३ पुस (ओएनएस) :
दलहरुले संविधान निर्माणको कार्यतालिका परिवर्तन गर्ने भएका छन् । माघ ८ मा प्रारम्भीक मस्यौदा र त्यसको कम्तिमा एक महिनापछि संविधान जारी गर्ने गरि संविधानको फास्ट ट्रयाक कार्यतालिका बनाउन लागिएको हो । संविधानका अन्र्तबस्तुमा छलफल गर्ने क्रममा चारपक्षीय कार्यदलले माघ ८ मा पूर्ण संविधान सम्भव नभएको निस्कर्ष सहित कार्यतालिका संसोधनका विषयमा पनि छलफल गरेको छ ।

संविधानका विवादित विषयमा कार्यदलले तयार गर्ने प्रस्तावमा माघ ८ मा संविधान सम्भव नभएको प्रस्ताव पनि शीर्ष तहमा गरिने कार्यदलका एक सदस्यले जानकारी दिए । उनका अनुसार संविधान कहिले जारी गर्छ भन्ने नयाँ मिति शीर्ष तहले टुङ्गो लगाएपनि माघ ८ मा संविधान ल्याउन सम्भव नभएकाले कार्यदलले त्यसको विकल्प सुझाउने छ ।

‘तीन महिना पछि वैशाखमा गणतन्त्र दिवसको अवसर पारेर संविधान जारी गर्ने वा फागुनमा प्रजातन्त्र दिवस पार्ने भन्नेमा छलफल भएको छ’ एक सदस्यले ओएनएसलाई भने । कार्यतालिका बनाउदा यसअघि तोकिएको भन्दा कम समयमा संविधान निर्माणका प्रक्रियाहरु पूरा गर्ने तयारी सचिवालयले गरिरहेको बताए ।

संविधान सभाको कार्यतालिका अनुसार कात्तिक १६ सम्ममा संवाद समितिले संबिधानसभामा प्रतिवदेश पठाइ सक्नुपथ्र्याे । दलहरुको सहमतिले संविधान निर्माण प्रक्रियाको बाटो खोलेपनि कार्यतालिका भने नराम्ररी प्रभावित भएको छ ।

संबिधानसभाको कार्यतालिका अनुसार कात्तिक मसान्तसम्ममा संबिधानको पहिलो मस्यौदा तयार भई जनताबाट राँय तथा सुझाव संकलन भैसक्नु पर्ने थियो । यस्तै मंसिर मसान्तसम्ममा सभासदहरुले आफ्नो निर्वाचन क्षेत्रमा गई संकलन गरेका जनताका सुझावलाई प्रतिवेदन बनाएर संबिधान सभामा पेश गर्नु पर्ने तालिका थियो । तर अहिलेसम्म दलहरुबीच राज्यको पुन संरचना, शासकीय स्वरुप, न्यायप्रणाली लगायतका बिषयमा सहमति हुन नसक्दा संबिधानको पहिलो मस्यौदा पनि बन्न सकेको छैन ।


  •  
  •  
  •