काठमाडौं २१ माघ (ओएनएस) : संविधानका विवादित विषयमा आज प्रश्नावली बनाउने प्रारम्भिक काम सकिने भएको छ । बिहानको बैठकले प्रश्न तयार गरेपछि प्रस्ताव समितिको दिउँसो बस्ने बैठकमा छलफल हुनेछ । उपसमितिलाई थप प्रश्न बनाउनु पर्ने अवस्था आए समितिको आग्रह अनुसार भोलिको संविधानसभा बैठकले पाँच दिन समय थप गर्नेछ । आज प्रश्नावलीको काम सकिए समितिले भोलिको बैठकमा प्रस्ताव लैजानेछ ।
बिहान बस्ने उपसमिति बैठकले राज्यपुनर्संरचना, शासकीयस्वरुप, न्याय र निर्वाचन प्रणालीलगायतका विवादित विषयमा छलफल गरी प्रश्नावली बनाउने छ । उपसमितिको बिहान सिंहदरबारमा बोलाइएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति, निक्र्यौल समिति र संविधानसभाको बैठकमा सभासद्हरुले उठाएको विषयवस्तु र अघिल्लो संविधानसभा बैठकका विभिन्न समितिका निर्णयका आधारमा उपसमितिले प्रश्नावली तयार गर्नेछ ।
अग्नीप्रसाद खरेल नेतृत्वको ९ सदस्यीय उपसमितिले विवादित मध्ये आंशिक प्रश्नावली तयार गरि हिजोको बैठकमा पेश गरेपनि प्रश्नावलीको बाँकी काम टुङग्याउन बिहानैदेखि छलफल गर्न लागिएको संयोजक खरेलले बताए ।
प्रश्नावली तयार भएपछि भोलि बस्ने संविधानसभाको बैठकमा छलफलका लागि प्रस्तुत गरिने र थप आबश्यकता रहे समय मागिने उनले बताए । संविधानसभाको बैठक संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले भोलि दिउँसोका लागि बोलाएका छन् । विपक्षीले भने बैठकमा नजाने बताएका छन् ।