प्रश्नावली समितिको म्याद थप हुने

238
  •  
  •  
  •  

काठमाडौं, २० माघ (ओएनएस) :  संविधानको विवादित विषयमा प्रश्नहरु  तयार गर्न गठीत प्रश्नावली  समितिको म्याद थप हुने भएको छ । ५ दिनको म्याद रहेको समितिले निर्धारित मितिमा विवादित विषयमा प्रश्नहरु तयार गर्न नसक्ने भएपछि म्याद थपीने भएको हो ।

विवादित विषयमा प्रश्नहरु तयार गर्न अग्नी खरेलको संयोजकत्वमा गठीत ९ सदस्यीय उपसमितिले मंगलबार ३ वटा विषयमा मात्र प्रश्नहरु तयार गरेको छ । समितिले सात विषयमा एक सय प्रश्नहरु बनाउने तयारी गरेको छ ।

‘मंगलबार हामीले तीन विषयमा मात्र प्रश्नहरु तयार गरेका छौ, यस विषयमा भोलि समितिमा थप छलफल हुन्छ । ’ उपसमितिका एक सदस्य भने, ‘बाँकी विषयमा भोलि नै प्रश्नहरु तयार पार्न असंभव छ, पर्सि डाकिएको संविधानसभाको बैठममा समितिको म्याद थपको प्रस्ताव पेश हुन्छ ।’

ती सदस्यका अनुसार मंगलबार मौलिक हक, प्रस्तावना र संसोधनको विषयमा मात्र प्रश्नहरु तयार भएका छन् । यी तीन विषयमा छलफलपछि मात्र उपसमितिले संवैधानिक निकाय, न्याय प्रणाली, शासकीय स्वरुप, व्यवस्थापिका स्वरुप र राज्य पुनःसंरचना शीर्षकमा प्रश्नहरु बनाउनेछ ।

प्रश्नहरुलाई समितिमा छलफलपछि संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । संविधानसभाको बैठकमा विवादित विषयमा तयार पारिएको प्रश्नहरुलाई बहुमतको आधारमा टुङ्गो लगाइनेछ ।

यद्यपी सत्तापक्षले जबरजस्ती रुपमा प्रक्रिया अघि बढाएको भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले समितिको बैठक बहिष्कार गरेका छन् । उनीहरुले संविधानसभाको बैठकमा पनि भाग नलिने निर्णय गरेका छन् । यस्तै राप्रपा नेपालले पनि आफ्ना मुद्दामा प्रश्नावली नबनाएको भन्दै समितिको बैठक बहिष्कार गरिसकेको छ ।


  •  
  •  
  •