काठमाडौं १८ माघ (ओएनएस) : माओवादी र मधेसी मोर्चाको सहभागिताबिनै प्रक्रियाबाट संविधान लेख्न सत्तासीन दलहरूले काम अघि बढाएका छन। हिजोदेखि सुरु भएको प्रक्रियासँगै आज कार्यविधि तय गरिदैछ ।
सहमति नजुटेपछि विवादित विषय टुंग्याउन गठित प्रश्नावली प्रस्ताव निर्माण समितिको शनिबारको पहिलो बैठकले कार्यविधि बनाउन नेपाली कांग्रेसका सभासद् रमेश लेखकको समयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिले प्रश्नावलीको आधार र समिति सञ्चालन विधि तय गर्नेछ।
आज दिउँसो १ बजे बोलाइएको बैठकमा उपसमितिले कार्यविधि पेश गर्ने संयोजक रमेश लेखकले जानकारी दिए । उनका अनुसार बैठक सञ्चालन, निर्णय प्रक्रिया र प्रश्नावली निर्माणका आधार समेटिएको कार्यविधिमा समितिको पूर्ण बैठकमा सर्वसम्मत हुन नसकेका विषयलाई बहुमतबाट टुंग्याउने प्रस्ताव गरिनेछ ।
समितिले एमाओवादी, मधेसी मोर्चालगायत विपक्षी गठबन्धनलाई प्रक्रियामा सहभागी भएर संविधान निर्माणमा जुट्न आह्वान गरेको छ। ७३ सदस्यीय समितिमा विपक्षी गठबन्धनको २४ सिट खालि छ। उपसमितिले कार्यविधि बनाउन संसद् सचिवालयको पनि सहयोग लिएको लेखकले बताए।
एमाओवादी नेता डा. बाबुराम भट्टराई सभापति रहेको संवाद समितिले विवादित भनी छुट्ट्याएका विषयलाई प्रश्नावली बनाएर पेस गर्ने जिम्मा प्रश्नावली प्रस्ताव निर्माण समितिलाई दिइएको छ। संवाद समितिले राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति जुट्न नसकेको प्रतिवेदन संविधानसभामा पेस गरेको थियो।
समितिले विवादित भनेकाबाहेक प्रस्तावना, नागरिकतालगायत अन्य विषयमा पनि प्रश्नावली बनाउनुपर्ने समितिका सदस्यहरू बताउँछन् । पाँच दिन समय पाएको समितिले संविधानसभामा प्रतिवेदन पेस गरेपछि त्यसमाथि मतदान गरी विवाद टुंग्याइनेछ ।