टर्‍यो माघ ८

377
  •  
  •  
  •  

Subash-Nemwang1काठमाडौं ३० पुस ।
संविधानका विवादित विषयमा संवाद समितिले सहमति जुटाउन नसकेपछि संविधानसभा अध्यक्ष सुवास नेम्बाङले मतदानबाट अघि बढ्ने प्रक्रिया सुरु गर्ने तयारी गरेका छन्। कांग्रेस-एमालेलगायत दुई तिहाइ सभासद्को भावनाविपरीत संवाद समितिमा चार दिनका लागि प्रतिवेदन पठाउन ‘भूमिका’ खेलेका नेम्बाङ प्रक्रियाको तयारीमा जुटेको संविधानसभा सचिवालय स्रोतले बतायो।

प्रक्रिया थाल्न माग गर्दै मंगलबार भेट गरेका एमालेका युवा सभासद्सँग नेम्बाङले ठट्यौली गरेका थिए, ‘अब त संवाद समितिमा प्रतिवेदन पठाऔं भन्नेले पनि फेरि समितिमै फर्काऔं भनेर मान्नहुन्न होला। आज (मंगलबार) को संविधानसभा बैठक पनि प्रक्रिया हो। अब प्रक्रिया सुरु भयो।’

संवाद समितिको प्रतिवेदनमाथि माघ १ मा बस्ने संविधानसभा बैठकमा सामान्य छलफल गराएर विवादित विषयमा प्रश्नावली बनाउन छुट्टै समिति बनाउने तयारीमा सभाध्यक्ष रहेको स्रोतले बतायो।

‘संविधानसभाले सहमति नभए प्रश्नावली बनाउने भनेर नियमावलीमा गरेको व्यवस्थामा कसैको पनि विरोध होला र?’ सचिवालयका एक अधिकारीले भने। तर त्यस्तो समिति कति सदस्यीय बनाउने भन्नेमा दलहरूबीच सहमति चाहिन्छ।

संविधानसभामा दलहरूको उपस्थितिअनुसार प्रतिनिधित्व हुने गरी समिति बन्ने गरेकाले प्रश्नावली समिति पनि ठूलो बन्ने सम्भावना छ। प्रश्नावली समितिलाई निश्चित दिन तोकेर प्रश्नावली ल्याउन समय निर्धारण गर्ने र त्यसलाई संविधानसभा बैठकमा मतदानबाट टुंग्याउने तयारी सचिवालयको छ।

मतदानबाट टुंगिएका विषयलाई मस्यौदा समितिमा पठाइनेछ। ‘यो प्रक्रियाबाट अघि बढे अर्को दुई महिनापछि मात्र पहिलो मस्यौदा आउन सक्छ’, सचिवालय स्रोतले भन्यो, ‘यसका लागि नियमित प्रक्रिया पूरा गर्नुपर्छ।’

कांग्रेस-एमालेले संवाद समितिमा प्रस्तुत नौबुँदे साझा प्रस्ताव, एमाओवादी र मधेसी मोर्चाको साझा प्रस्ताव र अन्य दलका पनि प्रस्तावलाई मतदानमा लैजान सभाध्यक्षलाई आग्रह गरेको स्रोतले बतायो।

‘त्यसो गर्दा त मतदान प्रक्रिया छिटो टुंगिन्छ। तर यसका लागि दलहरूबीच सहमति चाहिन्छ’, सचिवालय स्रोतले भन्यो। प्रक्रिया सुरु गर्दा माघ ८ मा संविधान आउने सम्भावना भने सकिन्छ।

यता प्रक्रियाको तयारीबारे सभाध्यक्ष नेम्बाङलेभने, ‘संविधान, नियम र स्थापित मान्यताअनुसार संविधानसभा अघि बढ्छ। म आफ्नो मान्यतामा अडिग छु।’ उनले आफ्नो विनम्रतालाई कमजोरीका रूपमा नबुझ्न दलका नेताहरूलाई भन्न थालेको एमालेका एक सभासद्ले बताए। अन्न्पूर्णपोष्टबाट


  •  
  •  
  •