संविधानसभाको बैठक वैशाख ३० गते

385
  •  
  •  
  •  

काठमाडौं,  २६ वैशाख (ओएनएस) : विजनेश नपाएर लामो सयमदेखि स्थगित भएको संविधानसभाको बैठक वैशाख ३० गते बस्ने भएको छ । संवैधानिक अभिलेख अध्ययन तथा निक्र्यौल समितिअन्र्तगत गठित विभिन्न उपसमितिले पहिलो संविधानसभामा भएको सहमति र विवादित विषयको निक्र्यौल गरेपछि संविधानसभाले विजनेश पाउने भएको हो ।
स्रोतका अनुसार निक्र्यौल समितिले सहमति भएका विषयलाई संविधान सभामा पठाउने र विवादित विषयलाई सहमति कायम गर्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने निर्णय गरेपछि संविधानसभाको बैठकको मिति तय भएको हो ।
बैठकको एजेण्डा तय गर्न २९ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्र्तगत गठन भएको पुर्णबहादुर खड्का नेतृत्वको उपसमितिले दोस्रो जनआन्दोलनपछि सरकारले विभिन्न समुहसँग  गरेको सहमति र सम्झौताको पहिचान गरी प्रतिवेदन तयार पारेको छ ।
उपसमितिले तयार पारेको प्रतिवेदन पनि संविधानसभामा पेश हुने भएको छ । संविधानसभाको बैठक बस्ने तय भएसँगै संविधानसभा अन्र्तगतका पाँचवटै समितिले काम पाउने भएका छन् ।
पहिलो संविधानसभामा सहमति भएका र विवादित विषयको निक्र्यौल गर्न निक्र्यौल समितिले ६ वटा उपसमिति गठन गरेको थियो । ती मध्ये एमाले सभासद रवीन्द्र अधिकारीको संयोजकत्वमा गठित समितिले दुईवटा समितिको प्रतिवेदन अध्ययन गरी समिति समक्ष बुझाइसकेको छ ।
एमाओवादी सभासद हरिवोल गजुरेलको संयोजकत्वमा गठित उपसमितिले राज्यको पुर्नसंरचना, राज्यशक्तिको बाँडफाँड समिति र राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदन अध्ययन गरी सहमति र विवादित विषयको निक्र्यौल गरी समितिसमक्ष आफ्नो प्रतिवेदन शुक्रवार बुझाएको छ ।
निक्र्यौल समितिले प्राप्त गरेका चारवटै समितिका प्रतिवेदनमा पहिचान गरेका सहमति भएका विषय संविधानसभाको बैठकमा पठाउने निर्णय भएसँगै संधिवानसभा बैठकको मिति तय भएको हो ।

  •  
  •  
  •