काठमाडौ २९ भदौ (ओएनएस) : सभासदहरुले साना तिना कुरामा नअल्झेर माघ ८ मा संविधान दिन कुनै पनि दवाव स्वीकार गर्न नहुने बताएका छन् । संविधान नबनाउन दवाव आएको भन्ने राजनीतिक संवाद समितिका सभापति डा बाबुराम भट्टराईको भनाइप्रति लक्षितगर्दै उनीहरुले दवाव सामु नझुक्न आग्रह गरेका हुन् ।
सभासद्हरुले सहमतिका नाममा अनन्त कालसम्म विवाद लम्बाउन नहुने भन्दै प्रक्रियामा जानुपर्ने बताएका छन् । संवाद समितिको प्रतिवेदनमाथि संविधानसभामा जारी छलफलमा भागलिदै सभासद्हरुले कुनै पनि राष्ट्रिय अन्तराष्टिय दवावको प्रवाह नगर्न आग्रह गरेका हुन् । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माघ ८ मा संविधान जारी हुन नसके देश सम्हालिनसक्ने गरी भयाभह अवस्थामा फस्ने बताए । उनले सहमति नभए प्रक्रियामा गएर भए पनि संविधानका विवाद समाधान गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसका गगन थापाले संविधानसभा बाहिर रहेका सहमतिलाई संविधानसभाले नचिन्ने भन्दै संविधानसभाबाटै सहमति कायम गर्नुपर्ने बताए । उनले सहमति नभएमा प्रक्रियामा गएर भए पनि बिवाद सुल्झाउनुपर्ने बताए । रामकृष्ण यादवले संवाद समितिको समितिको प्रतिवेदनका कारण आम जनतामा निराशा र अबिश्वास बढेको बताए ।
नेकपा एमालेका रामहरि सुबेदीले उच्च स्तरीय संयन्त्रको नाममा संविधानसभामाथि गठन हुनै कुन ैपनि संयन्त्र स्वीकार्य नभएको बताए । नेपाली कांग्रेसका रमेश लेखकले संविधानसभा बाहिरका निणर्य असैवैधानिक हुने बताए । असन्तुष्ट समूहलाई राजनीतिक संवाद समितिमार्फत नै सहमति गर्नुपर्ने उनको भनाई छ ।