सभासद्हरुलाई अङ्ग्रेजी सिकाइने

137
  •  
  •  
  •  

काठमाडौँ, २५ भदौ : संविधानसभा क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति मातहतको तालिम, गोष्ठी, कार्यशाला र अन्तरक्रिया व्यवस्थापन उपसमितिले सभासद्हरुलाई अङ्ग्रेजी भाषाको ज्ञान दिलाउन कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

बैठकमा सदस्यबाट व्यक्त भावनालाई ध्यानमा राखेर उपसमिति आगामी दशैँपछि लगत्तै अङ्ग्रजी भाषाको बोलाइ तथा सिकाइसम्बन्धी तालिम सञ्चालन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको हो ।

यस्तो तालिम तथा प्रशिक्षणबाट सभासद्हरुको अन्तर्राष्ट्रिय भाषाको ज्ञान सम्बन्धमा क्षमता अभिवृद्धि भई विश्वका कतिपय संविधानमा भएका प्रावधानबारेमा जानकारी हासिल गर्न मद्दत मिल्ने विश्वास गरिएको छ ।

बैठकमा अङ्ग्रेजी भाषाको तालिमविज्ञ सभासद् तथा सचिवालयका कर्मचारीबाटै दिने व्यवस्था गरिनुपर्नेमा सदस्यले बैठकमा जोड दिए । बैठकको अध्यक्षता गरिरहेकी सभासद् जयन्ती राईसँग समय लिएर उपसमितिका सदस्य लक्ष्मी राईले आफूसँग लामो समयसम्म कलेज पढाएको अनुभव भएकाले सभासद्का लागि दिने अङ्ग्रेजी भाषाको तालिम निःशुल्क प्रदान गर्ने घोषणा गरिन् ।

बैठकमा सभासद्हरुले क्षमता अभिवृद्धिका लागि आवश्यक पर्ने ल्यापटप र इन्टरनेट सुविधा प्राप्त गर्ने सम्बन्धमा भइरहेको प्रगतिका बारेमा सचिवालयका पदाधिकारीसँग जानकारीसमेत मागेका थिए ।


  •  
  •  
  •