सभासदलाई लगाम लगाउन संविधानसभा बैठक लम्ब्याइयो

115
  •  
  •  
  •  

काठमाडौं २३ पुस (ओएनएस) :  दलहरुबीचको सहमति पर्खिदै संविधानसभाका अध्यक्ष सुवासचिन्द्र नेम्वाङले संविधानसभाको बैठक लम्ब्याएका छन् । सभासदलाई लगाममा राख्न र दलहरुको सहमतिको प्रतिक्षामा बैठक लम्बिएको संसद सचिवालयले जनाएको छ ।
संविधानसभा अध्यक्ष  नेम्बाङले तोकेको समयसीमालाई दलहरूले बेवास्ता गरेपछि संवाद समितिको प्रतिवेदनमाथि छलफल लम्ब्याएका छन्। नेम्बाङले सोमबारसम्म सहमति गर्न समय तोके पनि दलहरूले मंगलबार पनि कुनै परिणाम ननिकालेपछि संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि छलफल लम्ब्याइएको हो।

नेम्बाङले सोमबार साँझसम्म कि संविधानका विवादित विषयमा सहमति हुनुपर्ने कि मस्यौदा बनाउने जिम्मा आफूलाई दिनुपर्ने भन्दै समय तोकेका थिए। तर त्यो समयभित्र दलहरूले दुवै विषयमा सहमति गर्न नसकेर थप समय मागेका छन्।

‘दलहरू थप समय लिने पक्षमा छन् भन्ने जानकारी पाएँ’, नेम्बाङले भने, ‘दलका शीर्ष नेता र सरकारका प्रतिनिधिसँग कुराकानी भइरहेको छ। दलहरूबाट सहमतिमै टुंगोमा पुग्ने कुरा आएको छ।’ उनले प्रमुख दलका प्रमुख सचेतक र सरकारका प्रतिनिधि एवं कानुनमन्त्री नरहरि आचार्यसँग मंगलबार छलफल गरेपछि प्रतिवेदनमाथिको छलफल आज पनि तोकेका छन्।

यसअघि नेम्बाङले मंगलबार छलफल सम्पन्न गरेर दलहरूको सहमतिअनुसार अघि बढ्ने योजना बनाएका थिए।

संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलका अनुसार संवाद समितिको प्रतिवेदनमाथि नाम लेखाएका ३९ जना सभासद्ले बोल्न बाँकी छ। ‘शीर्ष नेताले पनि बोल्छु भन्नुभएको छ’, नेम्बाङले भने, ‘संविधानसभामा भइरहेको छलफल सम्पन्न हुने समयसम्म दलहरूले सहमति गर्ने आशा गरेको छु।’

माघ ८ मा संविधान आउने आशा अहिले नै मार्न नहुने भन्दै नेम्बाङले भने, ‘हामी जटिल अवस्थामा पुगेका छौं। तर अघिल्लो संविधानसभामा जेठ २ गते सहमति गरेर १४ गते संविधान जारी गर्न भएको प्रयासलाई पनि दृष्टिगत गर्न आवश्यक छ।’


  •  
  •  
  •