संविधानसभा बैठक पाँच दिन पर सार्ने तयारी

125
  •  
  •  
  •  

ca-buildingकाठमाडौं २३ चैत (ओएनएस) :  लामो समयपछि आज बस्न लागेको बैठक कुनै एजेण्डामा छलफल गरि स्थगित हुने भएको छ । पूर्वसभासद रामनाथ ढकालको निधनका कारण आजको संविधानसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिनेछ । संविधानसभा सचिवालयका अनुसार बैठकले ढकालप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

शोक प्रस्ताव पारितपछि बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने संसदीय अभ्यास अनुसार बैठक केहीदिन पर सर्नेछ । स्रोतका अनुसार बैठक पाँचदिन पर सार्ने तयारी भइरहेको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुलाई सहमतिको वाताबरण बनाउन बैठक पाँच दिन पछि सार्ने तयारी गरेका छन् ।

यसअघि दलहरूबीच नयाँ संविधानका विवादित अन्तर्वस्तुमा सहमति खोज्ने प्रयास असफल भएपछि बहुमतीय प्रक्रिया अघि बढाउन आज बैठक बोलाइएको थियो । गत माघ ११ देखि सुरु बहुमतीय प्रक्रियामा एमाओवादी सहितका प्रतिपक्षी दल सहभागी छैनन् ।

राजनीतिक छलफल तीब्र

दलीय असहमतिका कारण संविधानसभा बैठकको कार्यसूची के हुने भन्ने अन्योल सोमबारको बैठकका लागि टरेपनि अर्को बैठक कहिले बोलाउने र त्यो बैठकको एजेण्डा के बनाएर अघि बढ्ने भन्ने विषयको अन्योल भने अझैपनि चिरिएको छैन ।
यद्यपी राजनीतिक दलहरु सोमबारको बैठकको एजेण्डा के बनाउने र अहिलेका समस्याबाट कसरी पार पाउने भन्ने विषयमा छलफलमा जुटीरहेका छन् । सभाध्यक्ष नेम्बाङले एमाओवादीका दोस्रो तहका नेताहरुलाई आफ्नै कार्यकक्षमा डाकेर बन्दका कार्यक्रम पछि सार्न आग्रह गरेका छन् ।

एमाओवादी नेता कृष्णबहादुर महरा नेतृत्वमा गएको नेताहरुको टोलीले आइतबारको बैठक अघि सहमतिमा पुग्न सत्तापक्षले पहल नै नगरेको भन्दै बहुमतीय प्रक्रियामा जानेगरी बैठक अघि नबढाउन सुझाएका छन् । त्यसक्रममा सभाध्यक्ष नेम्बाङले आमहड्ताल कार्यक्रमपछि सारेर राजनीतिक छलफलमा जुट्न नेतृत्वलाई दवाव दिन आग्रह गरेका छन् ।

महासचिव महरासहित टोपबहादुर रायमाझी र शक्ति बस्नेत छलफलमा सहभागि भए । नेताहरुले शीर्ष तहमा छलफलनै नगरी बैठक डाक्दा सभाध्यक्षको भूमिका सम्योजनकारी नदेखिएको भन्दै बैठक नैं पछि सारेर छलफलमा जुट्न प्रस्ताव गरे ।

एमालेको नयाँ प्रस्ताव

एमालेको तर्फबाट नेता सुरेन्द्र पाण्डले सभाध्यक्ष नेम्बाङ र एकीकृत नेकपा माओवादीका नेताहरुलाई सहमतिका लागि नयाँ प्रस्ताव प्रस्तुत गरेका छन् ।

उनले अहिले सबैभन्दा बढि विवाद संघीयता भएको भन्दै संघीयताका विषयमा सुझाव तयार पार्न संविधानसभा भित्रै कार्यदल बनाएउन प्रस्ताव गरेका हुन् । ‘सबैभन्दा बढी विवाद संघीयतामा देखियो’ पाण्डेले भने, ‘त्यसैले बढीमा २० दिनभित्र सुझव पेस गर्ने कार्यादेशसहित कार्यदल बनाएर बाँकी विषयमा संविधानसभाले निर्णय गर्दै जानुपर्छ ।’

पाण्डेले यो प्रस्ताव एमाओवादी नेताहरुसँग पनि राखेका छन् । कस्तो प्रतिक्रिया आयो त एकीकृन नेकपा माओवादीबाट ? भन्ने प्रश्नमा पाण्डले भने, ‘एमाओवादी नेताहरु पनि यसमा सकारात्मक देखिनुभएको छ, तर अध्यक्ष प्रचण्ड बाहिर रहेका कारण निर्णय गरेर अघि बढ्न नसकिने बताउनुभएको छ ।’

कांग्रेस प्रश्नावलीमै सहमति खोज्दै

नेपाली कांग्रेसले सहमतिका लागि प्रश्नावली समिति भित्रै ‘स्पेस’ खोज्ने प्रयास गरेको छ । ‘सत्तामा रहेका दलहरुले प्रस्तुत गरेको नौ बुँदे प्रस्ताव र विपक्षी मोर्चाका तर्फबाट अनौंपचारिक रुपमा आएको नौ बुँदे प्रस्तावबाटै प्रश्नावली बनेका छन्’, कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भने, ‘खाली उहाँहरु (विपक्षी)को चित्त बुझाउन केही नयाँ प्रस्ताव ल्याउदा सहमति गर्न प्रधानमन्त्रीले छलफलका लागि डाकिरहनु भएको छ ।’
उनले सहमतिका लागि विपक्षीबाट प्रस्ताव आएमा त्यसलाई कहाँनेर ‘स्पेस’ दिने भन्ने विषयमा निर्णय गरेर त्यहीअनुरुप कार्यसूचीका लागि प्रधानमन्त्रीले संविधानसभा अध्यक्षलाई आग्रह गर्ने बताए ।


  •  
  •  
  •