जिम्मा संविधानसभालाई, सहमतिको बल्छि कहिलेसम्म ?

154
  •  
  •  
  •  

subash nemwag
subash nemwag

काठमाडौं २ माघ (ओएनएस) : संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदन माथि संविधानसभामा छलफल सुरु भएको छ । समितिका सभापति बाबुराम भट्टराईले प्रतिवेदन माथि छलफल होस भन्ने प्रस्ताव पेश गरेपछि छलफल सुरु भएको हो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिवेदनमाथि यसअघि नै छलफल भइसकेकाले अब संविधानसभाले के गर्ने भन्नेमा मात्रै विचार राख्न आग्रह गरेका छन् ।

बाबुराम भट्टराई

प्रस्ताव पेश गर्दै सभापति बाबुराम भट्टराईले सहमतिबाटै संविधानका विवादित विषयको टुङगो लगाउनुपर्ने बताए । संबिधान सभाको आजको बैठकमा संवाद समितिको सभापतिको हैसियतले बोल्दै भट्टराईले अब आन्दोलन र सडकका कुराले समस्या समाधान नहुने बताए ।

उनले संवाद समितिले पाएको पछिल्लो म्यादमा सहमतिको सम्भावना देखेको भन्दै अहिले पनि दलहरुबीच सहमति हुनसक्ने सम्भावना रहेको दाबी गरे ।  उनले ऋषि मनले सबैले अगाडी बढे सहमति हुने दावी गरे । ‘अहिले बन्ने संविधान पार्टीको हैन देशको हो। अहिलेको नेतृत्वले कुखुराजस्तो तल ओर्लेर भुइँ खोस्रने हैन चिलजस्तो माथि उडेर हेर्नुपर्छ’ उनले भने।

रामचन्द्र पौडेल

छलफलमा भाग लिदै कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अब सहमति सम्भव नभएको संविधानसभाबाटै विवादको छिनो फानो गर्नुपर्ने बताए । उनले सहमतिको बल्छीमा कहिलेसम्म बाधिने ? भन्ने प्रश्न गरे । आफूहरु पनि सहमतिकै पक्षमा रहेको भन्दै उनले भने-‘सहमतिको बल्छीमा मुलुक नराम्रोसँग अझिएको छ, अब कहिलेसम्म अल्झाइराख्ने ?’ उनले संघियतालाई जातसँग जोड्न खोजेकाले समस्या भएको बताए ।
संविधानका विवादित विषयमा सभाले दिएको समयसिमाभित्र पनि सहमति जुटाउन नसकेपछि पुस २८ गते समितिले समितिको बैठकको संक्षिप्त विवरणसहितको प्रतिवेदन संविधानसभामा पठाएको थियो।

झलनाथ खनाल

एमाले बरिष्ठ नेता झलनाथ खनालले जातिय राज्यमा जान खाजेका कारण समस्या भएको बताए । उनले सहमतिको नजिक हो भने आन्दोलन छाड्न विपक्षी मोर्चालाई आग्रह गरेका छन् । उनले तराईमा झापा देखि कञ्चनपुरसम्म एउटा राज्य बनाउन खोज्नु हास्यासपद भएको तर्क गरे । खनालले एकीकृत नेकपा माओवादीलाई आफ्नो चुनावी घोषणा पत्र स्मरण गर्न आग्रह गरेका छन् ।

उनले ६ महिनामा संविधानको मस्यौदा, एक वर्षमा संविधान जारी गर्ने एकीकृत माओवादीको चुनावी घोषणा पत्र स्मरण गर्न पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई लक्षित गर्दै आग्रह गरे ।

अग्नी सापकोटा

एमाओवादी सभासद् अग्नी सापकोटाले नागरिकलाई अधिकार सम्पन्न बनाउन कांग्रेस एमालेले बाधा दिएको दावी गरेका छन् ।
उनले कांग्रेस एमालेले पेल्न खोजेको बताए । संविधान त जारी गर्नुहोला तर जनताले स्वीकारेनन् र विष्फोटमा उत्रिए भने के गर्नु हुन्छ ? सोच्नुभएको छ ?’ उनले भने ।
उनले भने, ‘तपाईहरुलाई चाहिँदा विधि र लोकतन्त्रको कुरा गर्ने र तपाईहरुले पेल्नु पर्दा जसरी पनि संविधानसभा नियमावलीको व्याख्या गर्ने रु विगतका सहमति तोड्नुहुन्छ भने हामी पनि जनतामाझ जान्छौ। । जनताको अधिधकार हरण गर्न खोजे हामी जमेर प्रतिकार गर्न तयार छौं ।’

कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब जेठमा संविधान जारी गर्नेगरि प्रक्रियामा जानुपर्ने बताएका छन् । उनले नियमावलीमा भएको स्पष्ट ब्यवस्था अनुसार नै अब सहमति नभएकाले प्रक्रियामा जानुपर्ने बताए ।  प्रमुख दलहरुका कारण संविधान बन्न नसकेको बताए ।

एमाओवादीलगायतको गठबन्धनले विभिन्न माग राख्दै उपत्यका बन्द गरेको दिन पुस २९ गते पार्टी निर्देशन अनुसार समिति सभापति बाबुराम भट्टराई अनुपस्थित रहेपछि सभाध्यक्षको निर्देशनमा जेष्ठ सदस्य सूर्यबहादुर थापाले प्रतिवेदन सभामा पेश गरेका थिए ।


  •  
  •  
  •