काठमाडौं २९ पुस (ओएनएस) : एमाओवादी सहित विपक्षी दलले संविधानसभाको बैठक बहिष्कार गर्ने भएका छन् । पाँच वर्षको इतिहासमा यो पहिलो घटना हुनेछ । एमाओवादीको नेतृत्वमा संविधानसभाभित्र रहेका १९ दलले आज बैठक बहिस्कार गर्न लागेका हुन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा अध्यक्षलाई बैठक स्थगन गर्न आग्रह गरेका छन् ।
आज राजधानी सहित सर्वत्र बन्द आव्हान भएको, सभासदलाई संविधानसभा आउन-जान गाह्रो हुने भएको र जनकपुरमा प्रहरीले एकजनाको हत्या गरेको भन्दै १९ दलले संविधानसभा बैठक नराख्न भनेको हो । एमाओवादी प्रवक्ता अग्नि सापकोटाले आफूहरुको आन्दोलनलाई कमजोर बनाउने नियतले बैठक आब्हान गरेको भन्दै आफूहरुले बैठक बहिस्कार गरेको बताए ।
आज बिहान ११ बजेको लागि संविधानसभाको बैठक आब्हान गरिएको छ । तर, सभाध्यक्ष नेम्वाङले संविधानसभामा केही छलफल नहुने भन्दै सम्वाद समितिको प्रतिवेदन टेबुल गरेर बैठक टुंगिने बताएका छन् । बैठक नै स्थगन भने नगर्ने उनको भनाई छ ।