शासकीय स्वरुपमा एमाले र राप्रपा–नेपालको एउटै अडान

173
  •  
  •  
  •  

काठमाडौं, २ असार (ओएनएस) । नयाँ संविधानमा शासकीय स्वरुपको व्यबस्था सम्बन्धमा नेकपा एमाले र राप्रपा नेपाल एक ठाउमा उभिएका छन् । दुबै दलले संविधानसभामा जनतावाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको वकालत गरेका छन् । नेकपा एमालेले तत्कालिन संविधानसभामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको व्यबस्थाको वकालत गरेर अन्तिम समयमा ‘सुधारिएको संसदीय व्यबस्था’को पक्षमा मतदान गरेको थियो ।

तत्कालिन संविधानसभाको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथी संविधानसभामा जारी छलफलमा एमाले र राप्रपा नेपालका सभासद्हरुको राय मिलेको हो । नेपाली काग्रेस संसदवाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संबैधानिक राष्ट्रपति हुनुपर्ने तथा एकीकृत माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा देखिएका छन् ।

नेकपा एमालेकी सभासद अष्ठलक्षी शाक्यले राजनीतिक स्थिरता र देशको समृद्धिका लागि जनतावाट प्रतक्ष निर्वाचित प्रधानमन्त्री आबस्यक रहेको बताइन् । संसदीय व्यबस्थामा कुनै पनि सरकारले पूर्ण कार्यकाल पुरागर्न नपाएको दावी गर्दै उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा जानुको विकल्प नभएको बताइन् ।

एमालेकै शेरबहादुर तामाङले जनतावाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली नै देशका लागि उपयुक्त हुने बताए । अन्य बिषयमा तर्क विर्तक गरे पनि अन्तिममा संविधानसभाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा सहमति जुटने उनले दावी गरे ।

नेपाली कांग्रेसका जीवनबहादुर शाहीले संसदवाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदवाट निर्वाचित संवैधानिक राष्ट्रपतीय प्रणाली नेपालका लागि उपयुक्त हुने दावी गरे । ‘अमेरिकामा बस्ने पाँच बर्षको बालकले लगाउने पाइन्ट नेपालको पाँच बर्षको लागि मिल्दैन’, उनले भने, ‘विदेशीको नक्कल गरेर नेपालमा शाशकीय स्वरुप चल्न सक्दैन ।’
नेकपा एमालेका कृष्णभक्त पोखरेलले पनि नेपाली मौलिकताका लागि प्रत्क्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय प्रणाली उपयुक्त हुने बताए । राष्टिय जनमोर्चाका चित्रबहादुर केसीले संसदवाट निर्वाचित प्रधानमन्त्रीय प्रणाली नेपालका लागि उपयुक्त हुने बताए ।


  •  
  •  
  •