दलहरुले सहमति नगरेपछि संविधानसभा अन्योल मै

164
  •  
  •  
  •  

biccकाठमाडौं, ९ चैत (ओएनएस) : १० गतेसम्म सहमति गर्ने भनेका प्रमुख राजनीतिक दलहरुले सहमति नगर्दा संविधानसभाका अध्यक्ष बिहिबारको बैठक र त्यसपछिको बैठकको कार्यसूचीका विषयमा अन्योल भएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले बिहिबारको बैठकका लागि केही सभासद्हरुको समितिमा जिम्मेवारी तथा केहीको नाम समितिबाट हेरेफेर गर्ने प्रस्ताव मात्र राख्न लागेका छन् ।

बिहिबारको बैठकमा भर्खरै उपचुनावबाट निर्वाचित भएर आएकी सभासद चम्पादेवी खड्का र मन्त्रिपरिषद्बाट नियुक्त भएका ससभासदहरु उमेश श्रेष्ठ, नागेन्द्र कुमाल, लालबाबु यादव, ल्याक्याल लामा लगायतलाई समितिमा जिम्मेवारी दिने तथा केहीको नाम समितिमा हेरफेर गर्ने कार्यसूची बनाएका छन् ।

‘भोलीको बैठकभन्दा पनि महत्वपूर्ण भनेको अर्को बैठकको कार्यसूची हो’ सचिवालयका एक अधिकारीले भने, ‘दलहरुले भोली तीन बजेसम्ममा सहमति गरे अध्यक्षले अर्को बैठक डाकेर त्यही अनुरुपको कार्यसूची बनाउनुहुन्छ, सहमति नगरे प्रक्रिया सुरू गर्नुहुन्छ ।’

सभाध्यक्ष नेम्बाङ दलहरुबीच सहमतिको प्रतिक्षामा रहेपनि आगामी बैठकअघि सहमतिमा नपुगे दुई वा तीन दिनको समय दिएर अर्को बैठक बोलाउने र सहमति भए त्यही अनुरुप र नभए नियमावली अनुरुपको प्रक्रिया अघि बढाउने मनस्थितिमा छन् ।

गत ५ गते प्रमुख दलहरुबीच १० गतेसम्म संविधानका विवादीत विषयमा सहमति गरिसकेर त्यहिअनुरुपको प्रक्रिया अघि बढाउने सैद्धान्तिक सहमति गरेपनि अहिलेसम्म ठोस सहमतिमा रुपान्तरित गर्न सकेका छैनन् ।

प्रधानमन्त्री सुशील कोइराला जकार्ता सम्मेलनमा भाग लिन इण्डोनेशिया गएकाले कांग्रेसबाट दोस्रो तहका नेताहरुले सहमतिका लागि जिम्मा पाएपनि प्रमुख दलहरुले गर्ने भनेको सहमति अहिलेसम्म हुन सकेको छैन ।


  •  
  •  
  •