शोक प्रस्ताव पारित गर्दै ३० गतेसम्म संविधानसभा बैठक स्थगित

125
  •  
  •  
  •  

काठमाडौं, २३ चैत (ओएनएस) : संविधानसभाको सोमबारको बैठक शोक प्रस्ताव पारित गरेर आगामी ३० गते ३ बजेसम्मको लागि स्थगित भएको छ । सभाध्यक्ष सुवास नेम्बाङले बैठकमा पूर्वसांसद रामनाथ ढकाल तथा पूर्वसंसाद महेन्द्र यादवको निधनप्रति राखेको शोकप्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो ।

बैठकमा एमाओवादी नेतृृत्वको विपक्षी मोर्चाका प्रमुख सचेतक पनि उपस्थित भएका थिए । त्यसअघि शोकप्रस्ताव पारित गर्ने बैठकमा भाग लिन सभाध्यक्ष नेम्बाङले विपक्षी मोर्चालाई आग्रह गरेका थिए । करिब डेढ महिनापछि बसेको संविधानसभा बैठकले स्वर्गीय पूर्वसभासद् रामनाथ ढकाल र पूर्वसांसद महेन्द्र यादवको शोक प्रस्ताव पारित गरेको हो ।

ढकालको हिजो र २०४८-२०५१ को प्रतिनिधिसभा सदस्य यादवको चैत १७ गते निधन भएको थियो । एकीकृत माओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले मानवीय संवेदनालाई ध्यानमा राख्दै काठमाडौं उपत्यकामा रहेका १९ दलसम्बद्ध सचेतक आजको बैठकमा सहभागी भएको जानकारी दिए ।

शोक प्रस्ताव पारितपछि बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने संसदीय अभ्यास अनुसार बैठक केहीदिन पर सरेको हो । यसअघि दलहरूबीच नयाँ संविधानका विवादित अन्तर्वस्तुमा सहमति खोज्ने प्रयास असफल भएपछि बहुमतीय प्रक्रिया अघि बढाउन आज बैठक बोलाइएको थियो । गत माघ ११ देखि सुरु बहुमतीय प्रक्रियामा एमाओवादी सहितका प्रतिपक्षी दल सहभागी छैनन् ।


  •  
  •  
  •