सत्तापक्ष र विपक्षी आफ्नै रणनीतिमा

235
  •  
  •  
  •  

biccकाठमाडौ, १६ चैत(ओएनएस) : सहमति नजिक रहेको भन्दै संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसँग अर्को बैठकको मिति नतोकि समय माग गरेका दलहरु एक महिना १५ दिनसम्म पनि सहमति पुग्न नसकेपछि सभाध्यक्षले संविधानसभाको अर्को बैठकको मिति तोकेका छन् ।

आगामी २३ गते दिउँसो एक बजेका लागि बैठक डाकेका नेम्बाङले अझै पनि विषय वा प्रक्रियामा सहमति होस् भनेर पर्याप्त समय राखेर अर्को बैठकको मिति तय गरेको बताए ।

‘दलहरुलाई सहमतिका लागि उनीहरुले नैं मागे अनुरुप दिएको समय आज एक महिना १५ दिन पुरा भयो, दलहरुले सहमति त के सहमति नजिक रहेको सूचना समेत गरेका छैनन्’ सभाध्यक्ष नेम्बाङले भने, ‘त्यसैले कार्यसूची नतोकी आगामी २३ गते दिउँसो एक बजेका लागि संविधानसभाको बैठक बोलाउने सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशन दिएको छु ।’ सभाध्यक्ष नेमबाङले दलहरुलाई सहमतिका लागि पर्याप्त समय दिएर बैठक डाकेको बताए ।

‘अझै पनि दलहरुलाई सहमतिका लागि पर्याप्त सयम उपलब्ध छ’, नेम्बाङले भने, ‘सहमतिको महत्व र औचित्यलाई ध्यानमा राख्दै अविलम्ब सहमतिमा पुग्न म दलहरुलाई आग्रह गर्छु ।’ उनले हिजो आन्दोलनमा सहयात्रा गरेका दलहरु फरक–फरक बाटोमा हिड्दा राम्रो सन्देश नजाने भन्दै कम्तिमा आन्दोलनका सहयात्रीहरु एक ठाउँमा आउनुपर्ने बताए ।

‘अझै पनि २३ गते एक बजे अघि दलहरुले विषयमा सहमति गरेभने संविधानसभा सहमतिअनुरुप अघि बढ्छ, प्रक्रियामा सहमति गरेपनि सोही प्रक्रिया अनुरुपको कार्यसूची बनाउछ’, उनले भने, ‘ २३ गतेको संविधानसभा बैठकको कार्यसूची के हुने भन्ने दलहरुको हातमा छ ।’ यदि त्यस दिनसम्म पनि दलहरुले विषय वा प्रक्रियामा सहमति नगरे संविधानसभा नियम, प्रक्रिया र स्थापित अभ्यास अनुरुप अघि बढ्ने सभाध्यक्षले बताए ।

सभाध्यक्षले संविधानसभाको म्याद तोक्नु केहिबेरअघि बसेको सत्तारुढ दलको बैठकले विपक्षीहरु सहमति छोडेर आन्दोलनमा गएको भन्दै सभाध्यक्षलाई संविधानसभाको बैठक डाक्न आग्रह गर्ने निर्णय गरेको थियो । कुन मितिमा बोलाउने वा बैठकसम्म कति समय राख्ने भन्ने सम्बन्धमा भने दलहरुले कुनै प्रस्ताव गरेका थिएनन् । सभाध्यक्षले बैठक तोक्नुअघि सत्तापक्षीय दलका प्रमुख सचेतकसहित, दोस्रा–तेस्रो तहका नेताहरुसँग छलफल गरेका थिए ।

उनले विपक्षी मोर्चाको बैठक जारी रहदा विपक्षीहरुलाई पनि बैठक डाक्न लागेकोबारे जानकारी गराएका थिए । ‘मैले विपक्षी मोर्चाको बैठक जारी रहदा फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीलाई फोन गरेर बैठकको मिति तोक्न लागेको बारे जानकारी गराए’, उनले भने, ‘उहाँहरुबाट पनि सहमति हुन लागेको र थप केही समय आवश्यक भन्ने जानकारी समेत आउन सकेन, त्यसैले संविधानभासको बैठक तोकेको हुँ ।’

‘मैले ११ गतेका लागि अन्तिम समयसीमा दिदा स्वयं आन्दोलनकारी दलका नेताले पनि १५ गतेअघि सहमति हुनुपर्छ भनेर धारणा राख्नुभएको थियो’ उनले भने, ‘त्य अनुरुप सहमति हुन्छकी भनेर प्रतिक्षा गर्दा दलहरुले सहमतिका लागि थप समय आवश्यक छ भन्ने जानकारी समेत गराएनन् ।’

सभाध्यक्षले संविधानसभाको बैठक विशेषगरी विपक्षी गठबन्धनका नेता पुष्पकमल दाहाल र केही नागरिक समाजका नेताहरुको आग्रहमा गत माघ २९ गते अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए । १० दिनको म्याद दिएर बैठकको मिति तोकेका सभाध्यक्षले त्यहिआग्रहपछि सत्तापक्षको समेत स्वीकृति लिएर बैठक अनिश्चित कालका लागि स्थगित गरेका थिए ।

तर विपक्षी गठबन्धनले भने एकपटक वार्ता गरेर ‘सत्तापक्ष सहमतिमा संविधान जारी गर्न तयार नभएको’ आरोप लगाउदै ‘सहमतिमा संविधान जारी गर्न दवाव दिने’ घोषणासहित आन्दोलनमा गएका थिए । फागुन १६ गतेसम्म आन्दोलनको घोषणा गरेर आन्दोलनमा गएका विपक्षीहरु आन्दोलनबाट सत्तापक्षलाई गलाउने रणनीतिमा लागेका थिए ।

पहिलो चरणको आन्दोलनपछि पनि सत्तापक्षपक्ष सहमतिमा आउन तयार नभएको निश्कर्षसहित विपक्षीहरुले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । सभाध्यक्ष नेम्बाङले उनीहरुको दोस्रो चरणको आन्दोलनका चर्का कार्यक्रमअघि सहमतिमा पुग्न आग्रह गर्दै आइतबारसम्मको समय सीमा दिएका थिए ।


  •  
  •  
  •