‘संविधानसभाको अर्को बैठक १५ गते साँझ ५ बजे तोकिन्छ’

150
  •  
  •  
  •  

biccकाठमाडौं, ११ चैत (ओएनएस) : संविधानसभाको अर्को बैठक १५ गते साँझ पाँच बजे तोकिने भएको छ । सहमतिका लागि दलहरुलाई बुधबारसम्मको समय दिएका सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले बुधबार नैं संविधानसभाको प्रमुख आठ दलका प्रमुख सचेतकलाई डाकेर १५ गतेसम्मको थप समय दिएका हुन् ।

१० दिनका लागि समय नतोकि स्थगित बैठक अर्काे एक महिनासम्म चल्ने अवस्था नभएपछि दलहरुलाई आन्दोलनका कारण परिस्थिति थप नबिग्रियोस भनेर ११ गतेसम्मको सयम दिएको स्मरण गरे । उनले आफूले अब धेरै समय कुर्न नसक्ने प्रमुख सचेतकहरुलाई स्पष्ट जानकारी गराएको पनि बताए । सभाध्यक्ष नेम्बाङले विपक्षीको कडा आन्दोलनका कार्यक्रम सुरु हुनअघि विषय वा प्रक्रियामा सहमति गर्न भनेको बताए ।

‘मैले प्रमुख सचेतकहरुलाई थप चार दिनको समय दिएर पठाएका छु’, नेम्बाङले भने, ‘मैले अग्री्रम सूचना गराए, सहमति नभए अब १५ गते पाँच बजे म संविधानसभाको मिति तोक्छु ।’

एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सार्थक वार्ता हुन नसकेको विषयमा सभाध्यक्षको चासो देखिनु सकारात्मक भएको बताए । उनले भने, ‘उहाँको चासो पछिल्लो समयमा भएका वार्ताको विषयमाथिको छलफलले सम्बोधन गर्न लागेकाले फेरी पनि मिति तोक्नु उपयुक्त हुँदैन भन्ने देखियो ।’

प्रतिपक्षलाई कति समय चाहिने हो त भन्ने प्रश्नमा पोखरेलले त्यसरी समय तोक्ने भन्दा पनि जिम्मेवार छलफल आवश्यक भएको घुमाउरो जवाफ फर्काए । ‘पछिल्ला समयका वार्ताका विषय प्रवेशसहित सार्थक बाटोमा जाने संकेत देखिएका छन्’, उनले भने, ‘त्यसैले पुनः मिति तोकेर समय दिँदा वार्ताले सार्थकता नपाउन सक्छ ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सत्तापक्षले अधिकतम लचकता देखाइरहेको बताए । ‘जनतादेखि सत्तापक्षसम्मले प्रश्न उठाइरहेका छन्, त्यसैले पनि अब धेरै समय कुरिरहन सक्ने अवस्था छैन’ श्रेष्ठले भने, ‘सत्तापक्षले आन्दोलनका सहयात्री छुटाउन नचाहेका कारण मात्र सहमतिका लागि कुरिराखिएको हो ।’ उनले सभाध्यक्षले दिएका अवधिमा पनि सहमति नभए रोकिएर बस्न नसकिने बताए ।

एमाले प्रमुख साचेतक अग्नी खरेलले विषय वा प्रक्रियामा सहमतिमा जान प्रतिपक्षलाई सभामुखको जस्तै आग्रह दोहो-याए । ‘विषयमा पनि प्रक्रियामा पनि सहमति हँुदैन भनेर त भएन नी’, खरेलले भने ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले वर्तमान जनमतको उपयोग भएन भने प्रजातान्त्रिक व्यवस्था भन्न नमिल्ने बताए । ‘सहमति राम्रो कुरा हो, सहमति नभए संविधानसभाको प्रक्रिया अघि बढाउनुपर्छ’ उनले भने, ‘संविधानसभामा रहेको जनताको अभिमतको उपयोग भएन भने के प्रजातन्त्र रहन्छ ?’


  •  
  •  
  •