काठमाडौं, २९ माघ (ओएनएस) : एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको बहिष्कारको बीच संविधानसभाले प्रश्नावली समितिको प्रतिवेदन अनुमोदन गरेको छ । प्रश्नावली समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले प्रतिवेदन बिहिबार संविभानसभाका पेश गरेका थिए ।
समितिको प्रतिवेदन पेशपछि नेपाल मजदुर किसान पार्टीका सभासद् प्रेम सुवालले कतिपय विषयमा आफ्नो असहमति रहेको भन्दै विमति जनाएका थिए । जवाफमा सभाध्यक्ष सुवास नेम्वाङले प्रतिवेदन निणर्यार्थ पेश गर्दा आफ्ना भनाई राख्न आग्रह गर्दै अर्काे सुचना नभएसम्मको लागि संविधानसभाको बैठक स्थगित गरे ।
सभाध्यक्ष नेम्वाङले दलहरुबीच विवाद बढ्दै जादा सहमति गर्नको लागि सयम दिन सुचना नभएकोसम्मको लागि स्थगित गरेका हुन् । समितिले पेश गरेको प्रतिवेदनमा संविधानका विवादित विषयमा २३२ प्रश्नहरु बनाइएको छ ।
एमाओवादी नेतृत्वको मोर्चाले जबरजस्ती प्रक्रिया अघि बढाइएको भन्दै प्रश्नाली समिति तथा संविधानसभा बहिष्कार गरेको थियो । यता समितिको सुरुवाती बैठकमा भाग लिएको राप्रपा नेपालले आफ्ना एजेण्डामा प्रश्नाहरु निर्माण नगरेको भन्दै पहिले समिति र पछि संविधानसभा बहिष्कार गरेको हो ।