ओली र थापा अनुपस्थित भएपछि कार्य व्यवस्थाको बैठक बस्न सकेन

276
  •  
  •  
  •  

काठमाडौँ, १६ पुस (ओएनएस) : एमाले अध्यक्ष केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापा अनुपस्थित भएपछि बुधबारको लागि बोलाइएको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न सकेन ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले संविधान निर्माण गर्ने क्रममा कार्यतालिका परिमार्जन, प्रक्रियामा जाने अथवा सहमति कायम गर्ने भन्ने विषयमा शीर्ष दलका नेतासँग छलफल गर्न बुधबार परामर्श समितिको बैठक बोलाएका थिए । एमाले अध्यक्ष ओली र राप्रपा नेपालका अध्यक्ष थापा पार्टीका कामका सिलसिलामा उपत्यका बाहिर व्यस्त भएपछि बैठक बस्न नसकेको हो ।

बैठकमा नेपाली काँङग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी), मधेशी जनअधिकार फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टीलगायतका दलका शीर्षनेतालाई आमन्त्रण गरिएको संसद सचिवालयले जनाएको छ । ओली र थापा नआएपछि बैठक बिहिबार ११ः३० बस्नेगरी स्थगित भएको छ ।

अध्यक्ष नेम्वाङले कार्यतालिका परिमार्जन एवं प्रक्रियामा जानेबारेमा मङ्गलबार उपस्थित दलका प्रमुख सचेतसँग परामर्श गरेका छन् ।

नयाँ संविधान जारी गर्न नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) लगायत ठूला दलहरुले प्रतिबद्धता जनाएको समय माघ ८ गते आउन २३ दिन बाँकी रहँदा दलहरुका बीचमा संविधानका महत्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन ।

्खासगरी दलहरु प्रदेश निर्माण, न्याय प्रणाली, निर्वाचन प्रणाली र शासन पद्धतिका बारेमा हालसम्म सहमतिमा पुग्न सकेका छैनन् । अर्काेतर्फ संविधानसभामा छलफल भैराखेको संवैधानिक समितिको प्रतिवेदनलाई पुनः समितिमा नै फर्काउने की संविधानसभाले नै टुङ्गो लगाउने भन्ने विषयमा पनि दलका आ–आफ्ना तर्कहरु छन् । हालसम्म सो प्रतिवेदनमाथि ३०० भन्दा बढी सभासद्ले आ–आफ्ना भनाइ राखिसकेका छन् ।

संविधान जारी गर्ने समय नजिक आएकाले संविधानसभाले नै संविधानमा रहने सबै विषयको छिनोफानो गर्नुपर्छ, समितिमा पुनः असहमतिका बुँदालाई फर्काइनु हुँदैन भन्ने तर्क सत्ता साझेदार दलको रहेको छ भने प्रमुख प्रतिपक्षी दलले संवाद समितिमा प्रमुख सबै दलका शीर्ष नेता रहेकाले समितिमा नै असहमतिका बुँदामा छलफल गर्नुपर्छ भनिरहेका छन् ।


  •  
  •  
  •