दलहरूको अडानले माघ ८ घर्कंदै

91
  •  
  •  
  •  

काठमाडौं २९ कात्तिक ।
संविधानसभाका प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादी संविधानका अन्तरवस्तुमा सहमत हुन नसकेपछि संविधानसभाले तय गरेको माघ ८ गतेको कार्यतालिका गुज्रिने देखिएको छ। प्रमुख तीन दलबीच पटकपटक भएका छलफल सकरात्मक हुन नसकेपछि माघ ८ गते नयाँ संविधान जारी हुन सम्भावना टर्दै गएको छ।

सात प्रदेशसहितको संघीय संरचना निर्माणलगायत संविधानका विषयमा आफ्नो अवधारणा अघि सारेका कांग्रेस-एमालेसमेत माघ ८ मा एमाओवादीका कारण संविधान आउने सम्भावना कमजोर भएको बताउन थालेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भएको छलफलले झन् सहमतिको सम्भावनाको दूरी बढाएको छ। सहमति नहुने देखेपछि एक साताको रोल्पा भ्रमणमा गएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री सुशील कोइरालाले बोलाएर तीन दलको बैठक बसेको हो। तर बैठकमा कांग्रेस-एमालेले राजनीतिक संवाद तथा सहमति समितिमा पेस गरेको संविधानको अवधारणा अघि बढाउन आग्रह गरेपछि दलहरूबीच दूरी बढेको हो।

बैठकपछि निराश हुँदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादीले माघ ८ मा संविधान जारी गर्न नदिने बताए। ‘एमाओवादीले संविधानसभालाई रणनीतिका रूपमा मात्रै प्रयोग गर्दैछ भन्ने बल्ल पुष्टि हुँदैछ’, पौडेलले भने, ‘एमाओवादी संविधान बन्न नदिने पक्षमा देखिएको छ।’

बैठकमा कांग्रेस र एमालेका नेताहरूले सात प्रदेशको प्रस्ताव संवैधानिक तथा संवाद समितिमार्फत अघि बढाउएर थप सहमतिका लागि छलफल अघि बढाउने प्रस्ताव राखेका थिए। ‘कांग्रेस-एमालेले जसरी पनि आफ्नो प्रस्ताव अघि बढाएर छलफल गर्नुपर्ने बताएपछि कुरा मिलेन’, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘हामीले लगातार चार-पाँच दिन बैठक बसेर सहमति खोजौं भन्यौं। त्यसमा पनि उहाँहरूले मान्नु भएन।’

बैठकमा कांग्रेस-एमाले जसरी पनि सात प्रदेशको खाकालाई संवाद समितिबाट अघि बढाउनुपर्ने र एमाओवादी त्यसलाई थाती राखेर नयाँ शिराबाट सहमतिको प्रयास गनुपर्ने पक्षमा थिए। ‘जसरी पनि बहुमतीय प्रक्रियाबाट संविधान बनाउन खोजेपछि कुरा मिलेन’, श्रेष्ठले भने, ‘हामी सहमतिका आधारमा संविधान बनाउनुपर्छ भन्नेमा छौं।’

बैठकमा एमाओवादीले कांग्रेस-एमालेले संवाद समितिमा पेस गरेको सात प्रदेशसहितको प्रस्तावलाई आधार मानेर छलफल गर्न आफूहरू तयार रहेको धारणा राखेका थिए। तर कांग्रेस-एमालेले भने उक्त प्रस्तावलाई संवाद समितिबाट अघि बढाउनुपर्ने अडान दोहोर्‍याएका थिए।

कांग्रेस-एमालेका नेताहरूले भने सहमतिका लागि आफूहरू तयार रहेको तर संवाद समितिले प्रक्रिया रोक्ने गरी अवरोध गर्न नमिल्ने बताएका छन्। उनीहरूले संवाद समितिबाट आफूहरूको प्रस्ताव संविधानसभामा पेस गरेपछि पनि सहमतिका लागि छलफल र वार्ता लगातार गर्न सकिने बताएका छन्।

दलबीच सहमतिको वातावरण बन्न नसकेपछि माघ ८ गते नयाँ संविधान जारी हुने सम्भावना घट्दै गएको छ। यसअघि प्रधानमन्त्री कोइरालाले नेपालमा रहेका विभिन्न देशका राजदूत र अन्तर्राष्ट्रिय संघ-संस्थाका प्रतिनिधिसँग एमाओवादीका कारण माघ ८ मा संविधान जारी गर्न अवरोध भएको धारणा राखेका थिए। दुई दिनअघि कांग्रेस-एमालेले संविधान निर्माणमा एमाओवादीले प्रक्रिया रोकेर अवरोध गरेको ब्रिफिङ विदेशी राजदूतहरूलाई गरेका थिए। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •