प्रश्नावली समितिको ५ दिन म्याद थप

178
  •  
  •  
  •  

RPP at CAकाठमाडौं, २२ माघ (ओएनएस) : संविधानको विवादित विषयमा प्रश्नाली तयार गर्न गठित प्रश्नावली निर्माण समितिको म्याद ५ दिन थप भएको छ । आफूलाई जिम्मेवारी दिएको काम नसकिएको भन्दै ५ दिन समय थप गर्न समितिले प्रस्ताव गरेपछि संविधानसभाको बिहिबारको बैठकले म्याद थप्ने निर्णय गरेको हो  ।

यद्यपी बैठक चल्दै गर्दा राप्रपा नेपालले नारावाजी गरेको थियो । राप्रपाले प्रश्नावली समितिले आफ्ना एजेण्डामा एजेण्डा नबनाएको भन्दै विरोध गरेको थियो । राप्रपा नेपालका कमल थापाले संविधानसभामा हरेक नियमहरू मिचिएको छ भन्दै राप्रपा नेपाल रोष्टम अगाडि पुगेर नारा गाउन थालेका थिए । यस्तै, सभाध्यक्षले प्रश्नावली समितिको म्याद थपका विषयमा प्रस्ताव प्रस्तुत गर्दा अन्य राप्रपा नेपालका सभासद्हरूले हुँदैन भनेका थिए ।

सत्तापक्षले जबरजस्ती रुपमा प्रक्रिया अघि बढाएको भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले समितिको बैठक बहिष्कार गरेका छन् ।

विवादित विषयमा प्रश्नहरु तयार गर्न अग्नी खरेलको संयोजकत्वमा गठीत ९ सदस्यीय उपसमितिले मंगलबार ३ वटा विषयमा मात्र प्रश्नहरु तयार गरेको थियो । बुधबारसम्म म्याद रहेको मौलिक हक, प्रस्तावना र संसोधनको विषयमा मात्र प्रश्नहरुमाथि छलफल गरेको थियो । यी तीन विषय बाहेक उपसमितिले संवैधानिक निकाय, न्याय प्रणाली, शासकीय स्वरुप, व्यवस्थापिका स्वरुप र राज्य पुनःसंरचना शीर्षकमा प्रश्नहरु बनाउनेछ । प्रश्नहरुलाई समितिमा छलफलपछि संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । संविधानसभाको बैठकमा विवादित विषयमा तयार पारिएको प्रश्नहरुलाई बहुमतको आधारमा टुङ्गो लगाइनेछ ।


  •  
  •  
  •