संसदीय समिति सभापतिको निर्वाचन प्रक्रिया आजबाट

76
  •  
  •  
  •  

काठमाडौं १० भदौ (ओएनएस):

व्यवस्थापिका संसद मातहतका बिभिन्न १० र अन्य दुई गरी १२ ओटा समितिको सभापतिका लागि निर्वाचन प्रक्रिया संसद सचिवालयले आजदेखि सुरु गर्दैछ । वस्थापिका–संसदको कार्यसञ्चालन नियमावली, २०७० बमोजिम संसद अन्तर्गतका १० वटा विषयगत समिति, विधायन समिति र संसदीय सुनुवाइ विशेष समितिको निर्वाचन भोलि बुधबार सम्बन्धित समितिको कार्यालयमा हुनेछ।
११ वटा विषयगत समितिमध्ये सार्वजनिक लेखा समितिको सभापतिमा जनार्दन शर्मा चयन भइसकेका छन्। व्यवस्थापिका–संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सोमबार प्रकाशन गरेको सूचनाअनुसार बाँकी १० समितिका सभापतिका लागि मंगलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ भने मंगलबार नै बेलुका साढे ५ बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ताक्रमअनुसार सूची प्रकाशित हुनेछ। सचिवालयका अनुसार सभापतिको उम्मेदवारीका लागि आज साँझ ५ बजेसम्म दर्ता प्रक्रिया जारी रहनेछ भने आजै साँझ साढे ५ बजे दर्ता सूची प्रकाशन गरिनेछ । भोलि साँझ ५ बजे संसदमा मतदान हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । भोलिको संसद बैठकमा उम्मेदवारको प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत गर्ने कार्य तालिका सचिवालयले बनाएको छ ।


  •  
  •  
  •