मस्यौदा संविधानसभामा पेश गर्ने समय थपिदै

72
  •  
  •  
  •  

काठमाडौं २ साउन (ओएनएस) : संविधानसभाले नागरिकबाट संकलन भएको संविधानको सुझावलाई अध्यन गर्न थप केही दिन थप गर्ने भएको छ । ७ गते संविधानसभामा पेश गर्ने कार्यतालिका रहेपनि १० गते सार्ने तयारी छ । समय कम हुने र सुझाव राजधानी ल्याउन पनि समय लाग्ने भएकाले सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सुझाव समितिलाई साउन ६ गते राजधानी फर्किएपछि प्रतिवेदन तयार पारी पेश गर्न ७ गतेको सट्टा ९ वा १० गतेसम्मको समय दिनसक्ने सचिवालय स्रोतले बताएको छ ।
समितिले संविधानसभामा पेश गरेको राय सुझाव प्रतिवेदनमाथि सभाले विवादित विषयमा आवश्यक निर्देशनसहित तत्काल मिलाएर पुनः सदनमा पेश गर्न संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने छ।

सभासदहरुले देशभरीका २ सय ४० ओटै निर्वाचन क्षेत्रमा संविधानको मस्यौदामा सुझाव संकलनभने गरिरहेका छन् । सभासदहरुले साउन ४ र ५ गते सबै निर्वाचन क्षेत्रमा सुनुवाई गर्ने छन् । आज र भोलि छलफल, भलाकुसारी गर्ने र दुईदिन सार्वजनिक सुनुवाई गर्ने तयारी छ । संविधान जस्तो महत्वपूर्ण विषयमा सबै क्षेत्रका सरोकारवाला व्यक्तिहरुले आफ्नो रायसुझाव दिन सकुन भनि संविधानसभा सचिवालयको सिफारिसमा सरकारले उक्त २ दिन सार्वजनिक विदा घोषणा गरिसकेको छ ।

संविधान मस्यौदा समितिले तयार पारेको मस्यौदामा साउन ७ गतेभित्र जनताको राय सुझाव संकलन गरी प्रतिवेदन संविधानसभामा पेश हुनेछ । असार २५ गतेदेखि नै सचिवालयका कर्मचारी मस्यौदा, त्यसको विशेषतासहितको कागजात लिएर सबै जिल्लामा पुगि आवश्यक तयारी गरीरहेका छन ।

संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माका अनुसार गाउँ गाउँमा भोलिसम्म सर्वपक्षीय भेला गरेर सामुहिक छलफल हुनेछ । समयभित्र प्रतिवेदन तयार पार्न सुझाव समितिलाई कठिनाई हुने देखिएको छ ।


  •  
  •  
  •