‘यस्तो पो हुँदो रैछ संविधान ?’

122
  •  
  •  
  •  

काठमडौं ३१ असार ।
रति पार्कीले ५७ वर्षको उमेरमा पहिलोपल्ट संविधानको स्वरूप देख्न पाए । गाउँमा मस्यौदा पुस्तक आएको थाहा पाउनासाथ खोज्दै पुगे । भेट्नेबित्तिकै वल्टाइपल्टाई हेरे । केहीबेर छामछुम गरेपछि भने, ‘यस्तो पो हुँदो रैछ संविधान ?’

डडेलधुरा अमरगढी नगरपालिका–७ पोखराका रतिले ‘संविधान–संविधान’ भन्ने सुनेको वर्षौं भयो । ‘कस्तो हुँदो रहेछ संविधान भनेर खुल्दुली थियो,’ उनले भने, ‘आएको थाहा पाउनासाथ खोज्दै आएँ ।’ टोलका लागि उनैले एउटा मस्यौदा पुस्तक पाए । मुस्किलले पढ्न–लेख्न सक्ने उनले गाउँमा अरूलाई पनि पढेर सुनाए । निरक्षर र विपन्न दलित बस्तीका सबैले चाख दिएर सुने । तर, कहाँनिर के भनिएको हो, मेसो पाउन सकेनन् ।

‘सबैका कुरा लेखिएको संविधान आउँछ भन्थे,’ डोकोडालो बुनेर गुजारा चलाउने पार्कीले भने, ‘हाम्रोबारेमा कहींकेही लेखेको छ कि भनेर खोजिरहेका छौं ।’ राजनीति नबुझ्ने उनलाई संविधानको मस्यौदा उत्तिकै नबुझिने लाग्यो । ‘बुझ्नुपर्नेले बुझे भने र राम्रो रहेछ भने भइगयो,’ एक सय २८ पृष्ठको मस्यौदा पल्टाउँदै उनले थपे, ‘बरु छिट्टै आओस् । काटमार हटोस् ।’

अर्को दुर्गम गाउँ बोकटाका बलिसिंह भाटले पनि संविधानको मस्यौदा हेर्न पाए । ‘गाउँमा संविधानको किताब पुगेको खबर आएपछि गाविसमा भीडै लाग्यो,’ उनले भने, ‘जान्ने–बुझ्नेले ठीक छ भने । सबैले त्यसमा सही थापे ।’ एक सातादेखि जिल्लाका सबै एफएम रेडियोमा संविधानको मस्यौदा आइपुग्ने विज्ञापन प्रसारण भइरहेको थियो । यसले सर्वसाधारणमा जिज्ञासा बढेको हो । गाउँ पुगेको मस्यौदाको पुस्तक देखेर संविधान जारी हुनेमा स्थानीय बासिन्दा आशावादी देखिएका छन् ।

चार दिनअघि काठमाडौंबाट संविधानको मस्यौदा आउँदा जिल्ला प्रशासन कार्यालयले गाविस र नगर, वडाका सचिवहरूको भेला गराइरहेको थियो ।

धनगढीसम्म जहाज र त्यहाँबाट गाडीमा राखेर त्यही दिन मस्यौदा यहाँ आइपुग्यो । खोल्दाखोल्दै जिल्ला प्रशासनले हरेक सचिवलाई वडाका दुइटाका दरले मस्यौदा थमायो ।

भोलिपल्टै गाउँ फर्केका सचिवले त्यसलाई तुरुन्त वडा नागरिक मञ्चको हात लाए । वडालाई दुई टोलमा विभाजन गरेर बिहीबारसम्ममा पढ्ने/पढाउने गरी अगुवाको जिम्मा लगाएको सचिवहरूले बताएका छन् ।

‘मस्यौदा पाएपछि ८ वर्षमा बन्न नसकेको संविधान अब बन्ने भएछ भन्नेमा सर्वसाधारण ढुक्क देखिएका छन्,’ दुर्गम रूपाल गाविसका सचिव मातृका भट्टले भने, ‘मस्यौदामा छलफल गर्न नागरिक वडा मञ्चहरूलाई क्रियाशील बनाइएको छ । सबैले उत्सुकता र हर्षसाथ पढिरहनुभएको छ ।’

प्रमुख जिल्ला अधिकारी प्रेमराज लुइँटेलका अनुसार साउन ३ गतेसम्म गाविसस्तरमा छलफल गराई ४ गते संविधानसभा सदस्यको उपस्थितिमा जिविसमा बृहत् अन्तक्र्रिया गराइनेछ । त्यही दिन सम्पूर्ण सुझाव जिल्ला प्रशासनमा संकलन गरिनेछ । ‘पुस्तकको संख्या कम भयो,’ प्रजिअ लुइँटेलले भने, ‘संविधानको पूर्ण पाठ छापिएको पत्रिकाको ५ हजार प्रति सिन गाउँगाउँमा पठाइएको छ ।’
कान्तिपुरबाट


  •  
  •  
  •