संविधान निर्माण प्रक्रिया थप अन्योलमा

97
  •  
  •  
  •  

biccकाठमाडौं,  १८ पुस (ओएनएस) :  संविधान जारी गर्न तोकिएको अन्तिम मिति माघ ८ गते आउन २० दिन बाँकी रहँदा संविधान निर्माण प्रक्रिया थप अन्योलतर्फ धकेलिएको छ ।

दलहरुलाई संविधानसभाका अध्यक्ष सुवाङ नेम्वाङले सहमति गर्न ४ दिनको म्याद दिएपनि दलहरुले अहिलेसम्म सहमतिको प्रयास गरेका छैनन् ।

अध्यक्ष नेम्वाङले बुधबार भएको कार्यव्यवस्था समितिको बैठकमा चार दिनभित्र सहमतिमा पुग्न वा सहमति नभए आफूलाई संविधानको पहिलो मस्यौदा बनाउने अधिकार दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्प्तावमाथि दलहरुले सहमति गर्न शीर्ष नेताको बैठक तय हुन सकेको छैन ।

अध्यक्ष नेम्वाङले बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा चार दलका शीर्ष नेतालाई आमन्त्रण गरी नेताहरुले गम्भीरताका साथ छलफलमा जुट्ने विश्वास दिलाएका थिए ।

अध्यक्ष नेम्वाङले आउँदो सोमबारसम्ममा संविधानका अन्तरवस्तुमा सहमति गर्ने वा सहमति गर्न नसके नेम्वाङलाई मस्यौदा तयार पर्ने अधिकार दिनुपर्नेछ ।

नेपाली काँग्रेस र नेकपा (एमाले) सो प्रस्तावमा सकारात्मक भएपनि एमाओवादी र मधेसी मोर्चा सहमतिको मै संविधान जारी गर्नु पर्ने अडानमा छन् ।

अध्यक्ष नेम्वाङले कार्यतालिका अनुसार संविधान बनाउने प्रक्रियालाई छोट्याउन संविधानसभाका कार्यसञ्चालन नियमावली, २०७० को नियम १७० बमोजिम सभाध्यक्षको अधिकार प्रयोग गरी मस्यौदा तयारी र जनतामा पठाउने विषयसँग सम्बन्धित विभिन्न नियम निलम्बनको प्रस्ताव गरेका थिए ।

उनले छोटो समयमा संविधान जारी गर्दा आउने दोषलाई आफूले विष पिएसरह पचाउन पनि तयार भएको तर तोकिएको समयमै संविधान ल्याउन सो प्रस्ताव ल्याएको बताएका थिए ।

दलहरुबीच राज्य पुनर्सरचना, शासकीय स्वरुप, न्याय प्रणाली लगायतका बिषयमा विवाद बढ्दा संविधान तोकिएको मितिमा संविधान आउने संभावना कम छ ।


  •  
  •  
  •