सत्तापक्ष र विपक्षी सभासदबीच जुहारी जारी

226
  •  
  •  
  •  

काठमाडौँ, ७ पुस (ओएनएस) : संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा पेश गरेको प्रतिवेदशमाथिको छलफलमा सत्तापक्ष र विपक्षी दलका सभासदहरुबीचको जुहारी सोमबार पनि जारी रह्यो ।
सत्तापक्षका सभासदहरुले सहमति नभए प्रक्रियामा गएर संविधान जारी गर्नुपर्ने अडान सोमबार पनि दोहोर्याए । विपक्षी सभासदहरुले भने प्रक्रियामा गएर बनाएको संविधान मान्य नहुने भन्दै सहमतिमै संविधान जारी गर्नु पर्ने राटान कायम राखे ।

तोकिएको समयभन्दा करिब दुई घण्टा ढिला सुरु भएको संविधानसभाको बैठकमा नेपाली काँग्रेसका सभासद् आनन्दप्रसाद ढुङ्गानाले नेपाली जनताका सामु गरेको प्रतिबद्धताअनुसार आगामी माघ ८ गते संविधान जारी गर्नुको विकल्प नरहेको बताए । उनले पछिल्ला दिनमा शीर्ष नेताहरुबीचको वार्ताको परिणामले देशवासीलाई उत्साहित नपारेकोे बताउँदै सहमतिका आधारमा नै संविधान जारी गर्न हदैसम्मको प्रयत्न गर्नुपर्नेमा जोड दिए ।

एमालेका सभासद् भीम आचार्यले संविधान निर्माणको लागि भन्दै आठ वर्षभन्दा बढी समय व्यतित भएपनि हालसम्म कुनै प्रगति नभएकामा चिन्ता व्यक्त गर्दै यसपटक कुनै पनि हालतमा संविधान जारी गर्नैपर्ने बताए ।

सहमतिमा नै संविधान जारी गर्ने एमालेको प्रयास भएपनि पूर्ण सहमति हुन नसक्ने र विगतका सहमतिलाई सर्तका रुपमा प्रस्तुत गर्न नमिल्ने भएकाले सहमति नभए प्रक्रियामा गएर संविधान जारी गर्नैपर्नै आयर्चाको भनाई थियो । केही शीर्ष नेताले संविधानसभालाई बन्धक बनाएको र सभासद्लाई काम गर्न नदिएको उनले आरोप लगाए ।

एमाओवादीका सभासद् हितराज पाण्डेले अघिल्लो संविधानसभाले गरेका काम कारबाहीलाई वर्तमान संविधानसभाले स्वीकार गरिसकेको अवस्थामा प्रक्रियामा गएर संविधान जारी गर्ने विषय स्वीकार्य नहुने तर्क राखे ।

संविधान निर्माणको लागि सत्तारुढ दलले विशेष पहल गर्नुपर्नेमा गणितीय आधारमा नै पेलेर अगाडि जाने विषय विगतमा दलहरुबीच भएका सहमति र सहकार्यको प्रावधान विपरीत रहेको भन्दै उनले सबैले स्वीकार गर्ने संविधान जारी गर्ने कि नगर्ने भन्ने सन्दर्भ नै यतिखेरको प्रमुख विषय रहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद् भाष्कर भद्राले संविधान निर्माणको विषयमा हालसम्म भएको छलफल कर्मकाण्डी मात्रै भएको आरोप लगाउँदै ठूला राजनीतिक दलका शीर्ष नेताको अकर्मण्यताले संवाद समिति असफल भएको टिप्पणी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सभासद् जयन्त चन्दले लामो समयदेखि दलहरू छलफलमा लागेपनि सहमति जुट्न नसक्नु लाजमर्दो विषय भएको भन्दै प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्ने विचार व्यक्त गरे ।
मधेसी जनअधिकार फोरम नेपालका सभासद् उषा यादवले सहमतिको आधारमा संविधान जारी गर्नुपर्नेमा नेपाली काँग्रेस र नेकपा(एमाले)ले जबरजस्ती बहुमत र अल्पमतको कुरा गरेकामा असन्तुष्टि जनाइन् ।


  •  
  •  
  •